रुपन्देही – प्रदेश प्रमुख फेरिएसँगै लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले सरकार परिवर्तनको प्रयास सुरु गरेका छन् । गठबन्धन दलहरुले प्रदेश प्रमुख अमिक शेरचनलाई संविधानको धारा १६८ को उपधारा २ अनुसार नयाँ सरकार गठनको आह्वान गर्न समावेदन गरेका हुन् ।
प्रदेशसभामा हाल कायम रहेकामध्ये ४१ सांसदहरुको हस्ताक्षर रहेको छ । उनीहरुले धारा १६८ को १ अनुसार बनेको भनिएको सरकार अल्पमतमा रहेको दाबी गर्दै एकल बहुमतको सरकार दाबी गर्दा मुख्यमन्त्री शंकर पोखरेलले कीर्ते हस्ताक्षर गरेको, अल्पमतमा हुँदाहुँदै पनि जालझेल गरेको आरोप लगाएका छन् ।
पूर्वप्रदेश प्रमुखसँगको मिलेमतोमा मुख्यमन्त्री शंकर पोखरेलले असंवैधानिक तरिकाले सत्ता टिकाएको उनीहरुको दावी छ ।
प्रदेशसभामा बहुमतको अवस्थामा रहेका विपक्षी दलहरुले गत वैशाखदेखि नै पोखरेल सरकारलाई हटाउन प्रयास गर्दै आएका थिए ।
प्रदेश प्रमुख परिवर्तन भएपछि आइलाग्ने अप्ठेरो परिस्थितिलाई सामना गर्न माओवादी केन्द्र रोजेकी सांसद विमला वलीलाई प्रभावित पार्न प्रयास भैरहेको समेत विपक्षी दलहरुले आरोप लगाएका छन् ।
माओवादी पार्टी परित्याग गरी एमाले बनेका दधिराम न्यौपाने र दिनेश पन्थीले समेत अहिले सर्वोच्च अदालतमा सांसद पदमा पुनर्वहालीको माग गर्दै रिट दायर गरेका छन् । जसपाका सांसदले पदबाट बर्खास्त गर्ने निर्णयविरुद्ध पुनः सर्वोच्चमा रिट दायर गरेका छन् ।





प्रतिक्रिया