काठमाडौँ – प्रमुख प्रतिपक्ष एमालेले दार्चुला घटनामा भारतसँग औपचारिक विरोध जनाउन सरकारसँग माग गरेको छ । भारतीय सीमा सुरक्षा बलले महाकालीमाथिको तुइन ‘काटिदिँदा’ जयसिंह धामी नदीमा बेपत्ता भएको घटनाबारे औपचारिक विरोध जनाउन एमालेले मंगलबार संसद्मा माग गरेको हो ।
दार्चुलाबाट प्रतिनिधित्व गर्ने एमालेका सांसद गणेशसिंह ठगुन्नाले एमालेको प्रतिनिधिसभाको बैठकमा भने ‘यो घटनाको छानबिनको लागि संसदीय छानबिन समिति गठन गरियोस्,’ उनले भने, ‘यो घटनाको औपचारिक रूपमा भारतसमक्ष विरोध जनाइयोस् र दोषीलाई कारबाही गर्न पहिल गरियोस् ।’ धामीका परिवारलाई सरकारले क्षतिपूर्ति दिनु पर्ने पनि एमालेको माग छ ।
सांसद ठगुन्नाले दार्चुला खलङ्गा-तिंकर-कालापानी सडकलाई राष्ट्रिय गौरव आयोजनामा राख्न माग गरेका छन् । उनले त्यो सडक खन्ने जिम्मेवारी नेपाली सेना र स्थानीय युवाहरूलाई दिन पनि माग गरेका छन् । सडक निर्माण भएमा आफ्नै जिल्लाको सदरमुकाम आउनका लागि भारतको बाटो प्रयोग गर्न र तुइन तर्न नपर्ने उनको भनाइ थियो ।
सांसद ठगुन्नाले दार्चुला घटनालाई स्थानीय प्रशासनले साम्य पार्ने प्रयास गरिरहेको आरोप लगाएका छन् । प्रत्यक्षदर्शीले एसएसबीविरुद्ध भारतीय थानामा गएर किटानी जाहेरी दिइसकेको जानकारी दिँदै सांसद ठगुन्नाले भने, ‘नेपालको प्रशासन भ्रम नफैलाउन भनेर विज्ञप्ति निकालिरहेको छ ।’





प्रतिक्रिया