काठमाडौँ – नेपाली काँग्रेसका नेता गगनकुमार थापाले दार्चुलामा भएको घटनामा सरकारलाई सहयोग गर्नुपर्नेमा जोड दिएका छन् । उनले नागरिकको जीवन रक्षा गर्नु सरकारको मुख्य दायित्व भएकाले यस घटनामा सबै दल एकै ठाउँमा हुनुपर्ने र संसद्को तागत सरकारलाई सुम्पनुपर्ने बताए।
नेता थापाले भने, “नेपालको चुच्चे नक्शा सार्वजनिक गर्दा संसद्को तागत र सबैको सहयोगले नै सम्भव भएको थियो । त्यो तागत फेरी दार्चुला घटनाको छानबिनका लागि दिनुपर्छ ।” त्यहाँ भारतीय सुरक्षा बलले तुइन काट्दा एक युवा नदीमा बेपत्ता भएका खबर सार्वजनिक भएको थियो।
फरक प्रसङ्गमा नेता थापाले कांग्रेसको महाधिवेशन संविधान र कानूनले दिएको समय र सीमाभित्र रहेर सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन्। पार्टीभित्रको विवाद नसुल्झिए पुनः केन्द्रीय समितिमा ल्याउनुपर्ने आवश्यकता औल्याउँदै उनले विवाद समाधानका लागि केन्द्रीय समितिको बैठक बोलाउन भनिएकामा बैठक नबोलाउने तर समय घर्किएपछि महाधिवेशन हुन सकेन भन्न नपाइने धारणा पनि व्यक्त गरे । पार्टी सभापति र पदाधिकारीले महाधिवेशनका लागि नयाँ कार्यतालिका ल्याउनुपर्नेमा पनि उनको जोड छ ।





प्रतिक्रिया