देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दार्चुला घटनामा भारतले क्षतिपूर्तिसहित क्षमायाचना गर्नुपर्छ : नारायणकाजी श्रेष्ठ

देशान्तर

काठमाडौं – राष्ट्रियसभाका सदस्य नारायणकाजी श्रेष्ठले दार्चुला घटनाका विषयमा भारतले तत्काल क्षमायाचना गर्नुपर्ने बताएका छन् । राष्ट्रियसभाको आजको बैठकमा श्रेष्ठले भारत सरकारले अमानवीय कार्यप्रति क्षमायाचना गर्नुपर्ने बताएका हुन् ।

‘महाकाली नदीमा तुइन तर्दै गर्दा दर्चुलाका जयसिंह धामी भारतीय सीमा सुरक्षा बलले डोरी काटिदिएर अहिले पनि महाकालीमा बेपत्ता छन् । उनको परिवारले साल, पलास केही नभेटेपछि मृत्यु भएको भन्दै कुसको शव बनाएर दाहासंस्कार गरेको दुःखद अवस्था छ’, श्रेष्ठले भने, ‘म यो घोर मानवीय घटनाको भर्त्सना गर्दछु र भारत सरकारलाई यसका विषयमा क्षमायाचना गरी दोषीउपर कडा कारबाहीको माग गर्दछु ।’

उनले नेपाल सरकारले छानबिन समिति गठन गरेर परिपक्व कूटनीतिक समाधान गरे पनि पीडित परिवारलाई राहत र क्षतिपूर्तिका लागि प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन् । ‘नेपाल सरकारले छानबिन समिति बनाएर परिपक्व कूटनीतिबाट समस्या समाधान गर्न खोजेको छ, यो उचित नै छ’, श्रेष्ठले भने, ‘तर, पीडित परिवारलाई क्षतिपूर्तिसहित भारतीय पक्षबाट क्षमायाचना गर्ने व्यवस्था मिलाओस् भन्ने आग्रह गर्दछु ।’