देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही गरेका व्यक्ति आयोगको सदस्य नियुक्त

देशान्तर

काठमाडौं– सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही गरेका व्यक्तिलाई शिक्षक सेवा आयोगको सदस्यमा नियुक्त गरेको छ।

गत मंगलबार मन्त्रिपरिषद बैठकले शिक्षक सेवा आयोगको सदस्यमा नियुक्त गरेका डिल्लीराम रिमाल २०६३ सालमा अख्तियारको कारबाहीमा परेका थिए। उनलाई अख्तियारले आफन्तलाई शिक्षक सेवामा पास गराइ भ्रष्टाचारजन्य कार्य गरेको ठहर गरेको थियो।

माध्यमिक तहका शिक्षक पदको लेखा विषयका प्रश्नपत्र निर्माण, मोडरेशन र उत्तरपुस्तिका परीक्षणलगायत काममा संलग्न भइ आफन्तलाई उत्तीर्ण गराएको भन्दै रिमाललाई अख्तियारले कारबाही गर्न निर्देशन दिएको थियो।

शिक्षा मन्त्रालयमा उपसचिव रहँदा रिमाललाई प्रश्नपत्र निर्माण कार्यमा विशेषज्ञका रूपमा पठाएको र सोही विषयको उत्तरपुस्तिका परीक्षण पनि उनैले गरेर भाइ नाता पर्ने लेखनाथ रिमाललाई पास गराई अन्तर्वार्तामा सामेल गराएको अख्तियारको छानबिनले पुष्टि गरेको थियो।

त्यतिखेर रिमाल सिरहाको जिल्ला शिक्षा अधिकारी रहेपनि कार्यालयबाट बिदा लिई काठमाडौं आएका र लेखा विषयको उत्तरपुस्तिका परीक्षण गरेको अख्तियारले गरेको छानबिनमा उल्लेख छ।