बुटवल – लुम्बिनी प्रदेशसभा सदस्य विमला वलीले आफूलाई अपहरण गरेर मुख्यमन्त्री शंकर पोखरेलको निवासमा बन्धक पारिएको बताएकी छन् ।
उपचारका लागि तुलसीपुरस्थित घरबाट नेपालगञ्ज जाने तयारीमा रहेका बेला आफूलाई एमाले नेताहरुले ‘हामी पनि नेपालगञ्ज जाने हो सँगै जाऔँ’ भनेर गाडीमा राखेर बुटवल लगेको र मुख्यमन्त्री निवासमा बन्धक पारेको उनले बताइन् ।
बुटवलस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बिहीबार पत्रकार सम्मेलन गर्दै वलीले आफूलाई विज्ञप्ति पनि पढ्न नदिएरै एमाले नेताहरुले जबरजस्ती हस्ताक्षर गर्न लगाएको दाबी पनि गरेकी छन्।
साउन १५ गते बिहान उपचारका लागि नेपालगञ्ज हिँड्न लागेकै बेला एमाले लुम्बिनी प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकाल र स्थानीय नेता मानबहादुर रावतले आफ्नो घरमा आएर एमालेमा आउन दबाब दिएको तर आफूले नमानेपछि अपहरण गरेको उनको दाबी छ।निवासमा पुग्दा मुख्यमन्त्री पोखरेलले पनि आफूलाई एमालेमा आउन दबाब र प्रलोभन दिएको उनले बताएकी छन्।
साउन १८ गते विज्ञप्ति लेखेर आफूलाई पढ्नै नदिई जबर्जस्ती हस्ताक्षर गराइएको र अर्को दुई तीनवटा माइनट जस्ता रजिष्टरमा पनि जबरजस्ती हस्ताक्षर गराइएको उनले बताएकी छन्।
यति घटना गराइसकेपछि अब मलाई घर जान दिन्छन् र बाहिर गएर यो जबरजस्तीको खण्डन गर्छु भनेर सोचेको भए पनि अझ कडाइका साथ साउन १९ गतेदेखि निवास भित्रै राखिएको उनले बताएकी छन्।
२० गते बिहान आफू सबैजना आराम गरिरहेको मौका छोपी ट्वाइलेटको चप्पल लगाएर नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र संसदीय दलको कार्यालयमा पुगेको पनि उनले जानकारी दिएकी छन्।
पार्टी कार्यालयमा पुग्दा आफूलाई स्वतन्त्र संसारमा पुगेको अनुभूति भएको उनले बताएकी छन्।





प्रतिक्रिया