देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रधानमन्त्री देउवा र राष्ट्रसङ्घका आवासीय संयोजकबीच शिष्टाचार भेट

देशान्तर

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग यहाँस्थित संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजक सारा बेसोलो न्यान्तीले आज अपाराह्न प्रधानमन्त्री निवासमा शिष्टाचार भेट गरे ।

त्यस अवसरमा उनीहरूबीच नेपाल र संयुक्त राष्ट्रसङ्घबीचको सम्बन्ध तथा सहयोगबारे विचारविमर्श भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री देउवाले कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा राष्ट्रसङ्घले व्यक्त गरेको प्रतिबद्धताप्रति कृतज्ञता व्यक्त गरेका थिए ।

यसैबीच, यहीस्थित राष्ट्रसङ्घीय कार्यालयले प्रधानमन्त्रीसँगको भेटमा मानवाधिकारसम्बन्धी सर्वदेशीय आवधिक समीक्षाका क्रममा भएका सिफारिशको कार्यान्वयन, राष्ट्रसङ्घको सुदृढीकरण, नेपाल र राष्ट्रसङ्घबीचको साझेदारी, नेपालको अल्पविकसित राष्ट्रबाट स्तरोन्नति हुने लक्ष्य र दिगो विकास लक्ष्य प्राप्ति, कोभिड–१९ विरुद्धको सुदृढ प्रतिकार्यलगायत विषयमा अत्युत्तम छलफल भएको जनाएको छ ।

आजै प्रधानमन्त्रीसँग यहाँस्थित सङ्घीय गणतन्त्र जर्मनीका कार्यबाहक राजदूत स्टेफान रुस्सेकले पनि शिष्टाचार भेट गरे । भेटका बखत उनीहरूबीच नेपाल–जर्मनी सम्बन्धका साथै द्विपक्षीय व्यापार, लगानी र सांस्कृतिक सम्बन्ध प्रवद्र्धनबारे विचार आदानप्रदान भएको थियो ।

प्रधानमन्त्री देउवाले नेपालको सामाजिक–आर्थिक विकास तथा कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा जर्मनीले गरेको सहयोगका निम्ति धन्यवाद ज्ञापन गरेको उक्त मन्त्रालयले जनाएको छ ।