बुटवल – लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले आज सरकार बनाउने दाबि पेश गर्दै छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाको गठबन्धनले बहुमतको सरकार गठनको दाबि पेश गर्न लागेका हुन् । विपक्षी गठबन्धनबीच नेतृत्व गर्दै माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्री बनाउने यस अघि नै सहमति भएको छ ।
मुख्यमन्त्री शंकर पोखरेल अल्पमतमा परेपछि बुधबार राजीनामा दिएका थिए । विपक्षी गठबन्धनले विशेष अधिवेशनमा मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव ल्याउने निश्चित भएपछि पोखरेलले राजीनामा दिएका थिए । प्रदेश प्रमुख अमिक शेरचनले आज ३ बजेभित्र संबिधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुइ भन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्नेलाई सरकार गठनका लागि दाबि पेश गर्न आव्हान गरेका छन् ।
विपक्षीहरुबीच मुख्यमन्त्रीमा आलोपालो नेतृत्व गर्ने सहमति भएको छ । मुख्यमन्त्रीमा माओवादी केन्द्र र काँग्रेसले आलोपालो गर्ने सहमति भएको माओवादी केन्द्रका संसदीय दलका नेता केसीले जानकारी दिए ।
८० सदस्यीय रहेको लुम्बिनी प्रदेश सभामा नेकपा एमाले माधवकुमार नेपाल पक्षसहितका ३८ जना सांसद छन् भने विपक्षी गठबन्धनमा भने सभामुख बाहेक ४१ जना सांसदको सर्मथन छ । विपक्षी गठबन्धनमा नेपाली कांग्रेसका १९, नेकपा माओवादी केन्द्रका १८ (सभामुख बाहेक), जनता समाजवादी पार्टी (जसपा)का ३ र जनमोर्चाका १ जना सांसद रहेका छन् । प्रदेशमा सरकार बनाउन ४१ सांसदको आवश्यकता पर्दछ ।





प्रतिक्रिया