देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

४२ सांसदको हस्ताक्षरसहित सरकार गठनका लागि लुम्बिनीका विपक्षीले पेश गरे दाबी

देशान्तर

काठमाडौं – लुम्बिनी प्रदेशमा विपक्षी गठबन्धनले बहुमतको सरकार गठनका लागि दाबी पेश गरेको छ।

४२ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दाबी गरिएको कांग्रेस प्रदेशसभा संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले जानकारी दिए। नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र जनता समाजवादी पार्टी जसपा र राष्ट्रिय जनमोर्चाको गठबन्धन सांसदले प्रदेश प्रमुख अमिक शेरचनलाई दाबी पत्र बुझाएका छन्।

गठबन्धनका तर्फबाट माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसीलाई मुख्यमन्त्रीको उमेदवार बनाइएको छ। लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले हिजो पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख शेरचनले बहुमतको सरकारको दाबी पेस गर्न आज दिउँसो ३ बजेसम्मको समय दिएका थिए।

समयसीमा सकिएपछि प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ उपधारा २ बमोजिम केसीलाई मुख्यमन्त्री नियुक्त गर्नेछन्। आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी रहेको कनौडियाले बताए। कांग्रेस र माओवादी केन्द्रले प्रदेशसभाको बाँकी १६ महिना कार्यकालमा ८ – ८ महिना सरकारको नेतृत्व गर्ने सहमति गरेका छन् ।

माओवादी केन्द्रका केसीले आगामी फागुन २ सम्म र त्यसपछि आफूले सरकारको नेतृत्व गर्ने सहमति बनेको कांग्रेस प्रदेशसभा संसदीय दलका नेता कनौडियाले बताए।