काठमाडौं – लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कुलप्रसाद केसीले ७ सदस्यीय मन्त्रीपरिषद् गठन गरेका छन्।
केसीले सत्तारुढ गठबन्धनका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीबाट मन्त्री नियुक्त गरेका हुन्। गठबन्धन आवद्ध राष्ट्रिय जनमोर्चा भने सरकारमा नजाने भएको छ।
जसपाबाट तीनैजना सांसद सुमन शर्मा रायमाझी, कुर्मती ढेँगा र सहसराम यादव मन्त्री बनेका छन्।
माओवादी केन्द्रबाट कृष्णध्वज खड्का, सूर्य चिन्हबाट चुनाव जितेका स्वतन्त्र सांसद अजय शाही र नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी मन्त्री नियुक्त भएका कांग्रेस प्रदेशसभा संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले जानकारी दिए।
स्रोतका अनुसार चौधरी शहरी तथा ग्रामीण विकास र सहसराम यादव भौतिक पूर्वाधार मन्त्री बन्न लागेका हुन्। अरु मन्त्रीहरुको मन्त्रालय भने तोकिएको छैन । मुख्यमन्त्री र मन्त्रीहरुले केहीबेरमा सपथ ग्रहण गर्दैछन्।
नेकपा माओवादी केन्द्रका प्रदेशसभा संसदीय दलका नेता केसी आज मुख्यमन्त्री नियुक्त हुनु भएका हुन्। प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ उपधारा २ बमोजिम आज अपरान्ह केसीलाई मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।
प्रदेशसभामा उनी रोल्पा १ क बाट निर्वाचित भएका हुन् । चार दलीय गठबन्धनले प्रदेशसभामा रहेका कूल ८० सदस्यको बहुमत ४२ सांसदको हस्ताक्षरसहित नयाँ सरकार गठनमा दाबी पेश गरेका थिए ।





प्रतिक्रिया