काठमाडाैं । नेपाली कांग्रेस केन्द्रीय कमिटी बैठकले पार्टीको १४औँ महाधिवेशनको परिवर्तित कार्यतालिका ल्याउने भएको छ । नेपाली कांग्रेस केन्द्रीय कमिटीको बैठक बिहीबारदेखि सुरु भएको छ ।
प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा सुुरु भएको बैठकमा पार्टीका महामन्त्री पूर्णबहादुर खड्काले पार्टीको १४औँ महाधिवेशनको कार्यतालिका केन्द्रीय कार्यसमितिले निर्माण गर्ने गरी प्रस्ताव पेस गरेको र केन्द्रीय कार्यसमिति सदस्यहरुको सुझाबबमोजिम १४औँ महाधिवेशनको परिवर्तित कार्यतालिका आउने प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।
बिहीबारको बैठकमा महामन्त्री खड्काले केन्द्रीय निर्वाचन समितिले पारित गरेर पठाएको निर्वाचन निर्देशिका प्रस्तुत गरेको र निर्देशिकाबारे छलफल गरी प्राप्त हुने राय, सुझाबबमोजिम बैठक सकिँदा निर्देशिका पारित गरिने पनि प्रवक्ता शर्माले बताए । उनले भने, ‘बैठकमा केन्द्रीय कार्यसमितिले कार्यतालिका निर्माण गर्नेगरी, कार्यतालिका कहिले सुरु गर्दा उचित हुन्छ भन्ने सन्दर्भमा बैठकमा प्रस्ताव प्रस्तुत भएको छ । केन्द्रीय कार्यसमिति सदस्यको सुझाबबमोजिम १४औँ महाधिवेशनको परिवर्तित कार्यतालिका ल्याउनेछौँ ।’
बैठकमा क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले समितिको तर्फबाट विवरण राखेको तथा समायोजन समितिका संयोजक विमलेन्द्र निधिले समायोजन समितिले यस अवधिमा गरेका कामको विषय राखेको पनि उनले जानकारी दिए । कांग्रेसको केन्द्रीय कमिटी बैठकमा सरकार सञ्चालन, कोरोना महामारी नियन्त्रणको सम्बन्धमा पनि छलफल हुने उनकाे भनाइ छ ।





प्रतिक्रिया