काठमाडौँ — सरकारले अफगानिस्तानमा रहेका नेपालीको सकुशल शीघ्र उद्धार गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले अफगानिस्तानमा विकसित घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै त्यहाँ रहेका नेपाली नागरिकको उद्धारका लागि काम गर्ने निर्णय लिएको सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले अफगानिस्तामा विकसित घटनाक्रमप्रति गम्भीर चासो लिँदै त्यहाँ रहेका नेपाली नागरिकहरूलाई सकुशल शीघ्र उद्धार गर्ने निर्णय भएको छ, कार्कीले भने ।
अफगानिस्तानमा रहेका नेपालीको सकुशल उद्धारका लागि सरकारका सम्बन्धित निकायहरूलाई समन्वय गर्न पनि निर्देशन दिइएको प्रवक्ता कार्कीले बताए ।
त्यस्तै, बेलायतको राजधानी लण्डनमा भूतपूर्व गोर्खा सैनिकले थालेको आमरण अनशनप्रति सरकारको ध्यानाकर्षण भएको पनि मन्त्री कार्कीले बताए । भूतपूर्व सैनिकहरूले समान अधिकारको माग राख्दै आमरण अनशन थालेका छन् ।
यस समस्यालाई कूटनीतिक माध्यमबाट समाधान गर्न नेपाल सरकार प्रतिबद्ध रहेको र यससम्बन्धि कूटनीतिक प्रक्रिया अघि बढिसकेकाले आमरण अनशन लगायतका फिर्ता लिनका लागि भूतपूर्व गोर्खा सैनिक सम्बद्ध सबैलाई आह्वान गर्ने निर्णय भयो, कार्कीले भने ।





प्रतिक्रिया