देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रतिनिधिसभा विघटनसम्बन्धी २९ वटा मुद्दा संवैधानिक इजलासमा

देशान्तर

काठमाडौं– दोस्रो प्रतिनिधिसभा विघटन विरुद्ध दर्ता भएका २९ वटा रिट निवेदनमाथि सर्वोच्च अदालतले बुधवार सुनुवाइ गर्दैछ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा २९ वटा रिट निवेदन एकसाथ पेशी चढेको छ ।

ती निवेदनमा तत्कालीन प्रधानमन्त्री ओलीको सिफारिस बदरदेखि राष्ट्रपतिको निर्णय बदरसम्मको माग छ । केही रिट निवेदनमा ओलीलाई नै प्रधानमन्त्री नियुक्त गरिनुपर्ने माग समेत थियो ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले सबै निवेदनको एकसाथ सुनुवाइ गर्दा भद्रगोल हुने भन्दै निवेदकहरुमध्ये शेरबहादुर देउवाले दिएको निवेदन प्रत्यक्ष सरोकारित भएकाले त्यसको सुनुवाइ शुरुमा गर्ने आदेश गरेको थियो ।

सार्वजनिक सरोकार देखाई परेका निवेदनको तुलनामा प्रत्यक्ष सरोकार जोडिएको निवेदन प्राथमिकतामा पर्ने भन्दै सर्वोच्च अदालतले देउवाको निवेदन शुरुमा सुनुवाइ गरेको थियो ।

अरु निवेदनहरुको हकमा भने देउवाको निवेदनको निर्णय आएपछि त्यसको पूर्णपाठका साथ पेश गर्नू भनिएको थियो । त्यही आदेश अनुसार यी निवेदन पेशी चढेका हुन् । यससम्बन्धी विषय सम्बोधन भइसकेको भन्दै सर्वोच्च अदालतले २९ वटा निवेदनहरुलाई एकैसाथ टुंग्याउने सम्भावना छ ।