काठमाडौं । माधवकुमार नेपालसँग रहेका तर, नयाँ पार्टी निर्माणमा मौन नेकपा एमालेका नेताहरुले १० बुँदे सहमति कार्यान्वयनका लागि अध्यक्ष केपी शर्मा ओलीलाई दुई दिने अल्टिमेटम दिएका छन् । नभए विद्रोह गर्ने बताएका छन् । उनीहरुले यो माधव नेपालले नयाँ पार्टी बनाउँदा भन्दा ठूलो क्षति हुने दाबी गरेका छन् ।
अध्यक्ष ओली र नेता नेपाललाई दबाब लिँदै संयुक्त वक्तव्य जारी गरेका स्थायी कमिटीका ९ सदस्यले शुक्रबार केन्द्रीय सदस्य र सांसदहरुसँग छलफल गरेका छन् । छलफलमा ५७ जना सहभागी भएका थिए ।
बैठकले दुई दिनभित्र १० बुँदे अक्षरशः कार्यान्वयन गर्न पार्टी अध्यक्ष ओलीलाई आग्रह गरेको छ । ‘१० बुँदेसँगै सहायक डकुमेन्टका रुपमा माइन्युट गरिएको छ, त्यसअनुसार तत्काल २ जेठ २०७५ को स्थायी कमिटी बोलाउनु पर्छ,’ एक नेताले भने, ‘स्थायी कमिटीले १० बुँदे अनुमोदन गरेपछि माओवादी केन्द्रबाट आएका र १० प्रतिशत केन्द्रीय सदस्यहरु थप गरेर अर्को बैठक बोलाइयोस् ।’ तल्लो तहका कमिटीहरु र जनवर्गीय संगठनहरु २ जेठ २०७५ मा फर्किंदा हुने समस्या हल गर्न निश्चित समय दिएर कार्यदल गठन गर्नुपर्ने यो समूहको माग छ ।
१० बुँदे अक्षरशः कार्यान्वयनसँगै १४ सांसदमाथि गरिएको कारबाही फिर्ता लिन अध्यक्ष ओलीलाई र नयाँ पार्टी दर्ता प्रक्रिया अघि नबढाउन नेता माधवकुमार नेपाललाई आग्रह गरिएको केन्द्रीय सदस्य सुरेन्द्र मानन्धरले बताए । एक केन्द्रीय सदस्यले भने, ‘अब धेरै अलमल स्वीकार्य छैन । यदि तत्काल सहमति कार्यान्वयन भएन भने एमालेमा विद्रोह गर्छौं ।’
‘हामी एमाले एकताका पक्षधर हौं । हामी पार्टी एकताका लागि प्रयासरत छौं । आजको भेलाबाट दल विभाजनसम्बन्धी अध्यादेशको विरोध गर्ने, १० बुँदे सहमति कार्यान्वयनका लागि आग्रह गर्ने, माधव नेपालसहितका नेताहरूलाई दल दर्ताको प्रक्रियाबाट फर्किन आग्रह गर्ने निष्कर्ष निकालेका छौं’, नेता गोकर्ण विष्टले भने । नेता भीम रावलले पनि १० बुँदे सहमति तत्काल कार्यान्वयन हुनुपर्ने र पार्टी दर्ता प्रक्रिया रोकिनुपर्ने बताए । उनीहरूले दल विभाजन सम्बन्धी अध्यादेशले अस्थिरता सिर्जना गरेको पनि निष्कर्ष निकालेको छन् ।





प्रतिक्रिया