देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दलित महिला जनप्रतिनिधिलाई मध्यरात बाँधेर कुटपिट, आठ जना पक्राउ

देशान्तर

बारा – बारामा स्थानीय तहका एक महिला जनप्रतिनिधिलाई निर्घात कुटपिट गरेको घटना सार्वजनिक भएको छ । बाराको कलैया उपमहानगरपालिका–२७ की वडा सदस्य तारादेवी पासवानमाथि स्थानीयवासीले कुटपिट गरेका हुन् ।

पासवानमाथि स्थानीय जोगिन्द्र साहसहितको समूहले कुटपिट गरेको प्रहरीले जानकारी दिएको छ । वडासदस्य पासवानमाथि गाउँकै एक महिलालाई अर्का पुरुषसँग भगाउन सहयोग गरेको आरोप लगाउँदै उक्त समूहले हातपात गरेको बताइएको छ ।

आक्रमणकारीहरुले महिला सदस्य पासवानलाई खम्बामा बाँधेर कुटपिट गरेका थिए । आक्रमण भएको सूचना पाए लगत्तै गएको प्रहरी टोलीले तारादेवीको उद्दार गरेको थियो । प्रहरीले तारादेवीलाई उद्दार गरी उपचारका लागि कलैया अस्पतालमा भर्ना गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता समेत रहेका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

आक्रमणमा संलग्न रहेको आरोपमा प्रहरीले साहसहित ८ जनालाई पक्राउ गरेको छ । उनीहरुविरुद्ध बारा जिल्ला अदालतमा समाजिक अपराध अन्तर्गत अभद्र तथा अमानवीय व्यवहार विरुद्धको मुद्दा दायर भएको प्रहरीले जानकारी दिएको छ ।