काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का प्रवक्ता नारायणकाजी श्रेष्ठले एमालेसँगको एकताबाट आफूहरुले पाठ सिक्ने तर, अबको एकताबाट नभाग्ने बताएका छन् । ‘एमालेसँग भएको एकताबाट हामीले पाठ सिक्यौँ र सिक्छौँ,’ प्रवक्ता श्रेष्ठले भने, ‘तर एकताबाट कदापि भाग्दैनौँ ।’
कम्युनिष्ट आन्दोलनमा देखा परेको समस्याहरुप्रति माओवादी केन्द्र चिन्तित रहेको औंल्याउँदै प्रवक्ता श्रेष्ठले आफूहरु जहिले पनि समाजवादको कित्तामा उभिएको जिकिर गरे । ‘हाम्रो पार्टी त्यही पार्टी हो जसले आजको यो परिवर्तण देखायो,’ पार्टी मुख्यालयमा बसेको स्थायी कमिटी बैठकपछि प्रवक्ता श्रेष्ठले भने, ‘हामी कम्युनिष्ट आन्दोलनको बाँकी चरण पूरा गर्न, समाजवादी क्रान्तिको दिशातिर लम्किन र क्रान्तिकारी इतिहासको निर्माण गर्न सधैं समाजवादी एकताको पक्षमा छौँ ।’
समाजवादी धारका सबै दलसँग एकताका लागि बहस गर्छौँ
यस्तै माओवादीले समाजवादी धारका दलहरुसँग एकताका लागि बहस गर्ने भएको छ । प्रवक्ता श्रेष्ठले भने, ‘नाम मात्रै समाजवादी होइन कि, सिद्धान्त, धार र बाटो नै समाजवादी रोजेका शक्तिहरुसँग हामी एकताका लागि बहस गर्नेछौँ ।’
दर्ताको प्रक्रियामा रहेका नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीसँग पनि एकताको सम्भावना रहेको प्रवक्ता श्रेष्ठ बताउँछन् । भन्छन्- ‘मैले भनिसकेँ, समाजवादी धारका शक्तिहरुसँग एकताको प्रयास र बहस हुने नै छ । यसो हुँदा उहाँहरुसँग नहुने कुरै भएन ।’
यस्तै प्रवक्ता श्रेष्ठले यथास्थितिवादलाई छोडेर आफूहरु अगाडि बढ्न चाहेको बताए । ‘हामी यथास्थितिवादलाई यतै छोडेर क्रान्तिकारी दिशातर्फ जान्छौँ । हाम्रो पार्टी माओवादी केन्द्रले रोजेको बाटो पनि यही समाजवादको बाटो हो ।’





प्रतिक्रिया