देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीको घोषणापत्र र अन्तरिम विधान तयार

देशान्तर

नेकपा एकीकृत समाजवादी पार्टी गठनको घोषणा गरेका नेता माधवकुमार नेपालको पार्टीको घोषणा पत्र र अन्तरिम विधान तयार भएको छ ।

प्रस्तावित पार्टीका अध्यक्ष नेपालले पार्टीको घोषणा पत्र र अन्तरिम विधान सोमबार राति चन्द्रागिरि रिसोर्टमा आयोजित प्रस्तावित पार्टीका केन्द्रीय सदस्य र सांसदको बैठकका क्रममा अध्ययनका लागि भन्दै वितरण गरेका हुन् ।

नेपालले बैठकमा ६ पेज लामो घोषणा पत्रसँगै ४३ पेज लामो अन्तरिम विधान पनि छलफलका लागि पेश गरेका छन् ।

घोषणापत्रमा नेकपा एकीकृत समाजवादीलाई नेपाली सर्वहारा श्रमजीवी वर्गको हित प्रतिनिधित्व गर्ने राजनीतिक संस्थाका रुपमा स्थापित गर्ने उल्लेख छ ।

नेपाली कम्युनिष्ट आन्दोलनको रक्षा गर्ने उद्देश्यले नयाँ पार्टी गठन गर्नुपरेको घोषणापत्रमा उल्लेख छ । घोषणापत्रमा पार्टीको उद्देश्य वैज्ञानिक समाजवाद भएको उल्लेख छ ।

सामाजिक–आर्थिक–सांस्कृतिक रुपान्तरणमार्फत नेपालको संविधानमा उल्लेखित समाजवाद उन्मुख व्यवस्था प्राप्तिको दिशामा अग्रसर हुने नयाँ पार्टीले जनाएको छ ।

एमालेबाट फुटेर नयाँ दल दर्ता प्रक्रियामा रहेका नेपालले सामेबारदेखि केन्द्रीय सदस्य र सांसदलाई रिसोर्टमा लगेर राखेका छन् । रिसोर्टमा ४६ जना केन्द्रीय सदस्य उपस्थित रहेका छन् । दल दर्ताको तयारी भइरहेका बेला आफू पक्षका नेताहरूको मन नभाडियोस् भनेर यस्तो गरिएको नेताहरुको भनाइ छ ।

नेपालको नेतृत्वमा प्रस्ताव गरिएको नेकपा एकीकृत समाजवादी दल दर्ताका लागि निर्वाचन आयोगले सनाखत गर्न बुधवार बोलाएको छ ।