देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस केन्द्रीय कार्यालयमा पौडेल पक्षीय जिल्ला सभापतिहरूको धर्ना

देशान्तर

काठमाडौं – नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका छन् । पार्टीले क्रियाशील सदस्यताको सूची सार्वजनिक नगरेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय जिल्ला सभापतिहरुले सूची सार्वजनिक गर्नेलगायतका माग राखेर धर्ना शुरु गरेका हुन् ।

निर्वाचन निर्देशिकामा सबै जिल्ला र तहमा एकरूपता ल्याउन पनि सभापतिहरुले माग गरेका छन् । एक मात्रै निर्वाचन क्षेत्र भएका जिल्लामा जिल्ला सभापतिको उम्मेदवार बन्न महाधिवेशन प्रतिनिधि हुनु नपर्ने व्यवस्था हटाउन पनि उनीहरुले भनेका छन् ।

क्रियाशील सदस्यताको सूचीमा हुने त्रुटी विधान र मापदण्डबमोजिम छानबिन गरी अन्तिम रुप दिइनुपर्ने धर्नामा सहभागि कांग्रेस नुवाकोटका सभापति जगदीश्वर नरसिंह केसीले बताए । सभापति केसी अनुसार तीन वटा माग रखेर उनीहरु धर्नामा बसेका हुन्, जसमा ‘क्रियाशील सदस्यता सूची सार्वजनिक गर्ने, सूचीमा भएका कमजोरी विधिसम्मत ढंगले टुंग्याउने र निर्वाचनका लागि सबैतिर समान व्यवस्था हुनुपर्ने ।’

सोमबार मात्र सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाबीच सहमतिमा क्रियाशील सदस्यता विवाद टुंगो लगाइएको बताइएको थियो । तर मंगलबारै पौडेल पक्षीय जिल्ला सभापतिहरु धर्नामा बसेका हुन् । कांग्रेसमा वडादेखि जिल्लासम्म चार तहबाट सिफारिश भएर आएकालाई मात्रै क्रियाशील सदस्यता दिन सकिने वैधानिक व्यवस्था छ ।