बैतडी – नेपाली कांग्रेस बैतडीले जिल्लाका सबै स्थानीयतहमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ। संगठन बलियो बनाउन प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको सो पार्टीका नेताहरूले जानकारी दिएका छन्।
१४ औं महाधिवेशन नजिकिँदै गर्दा सो पार्टीले जिल्लाका १० वटै स्थानीयतहमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको हो।
यसअघि गोठलापानीमा बसेको जिल्ला कार्यसमिति बैठकको निर्णयअनुसार नै सबै स्थानीय तहमा प्रशिक्षण कार्यक्रम सञ्चालनको तयारी भएको र बुधबार दोगडाकेदार गाउँपालिकाबाट शुरू हुने कांग्रेस बैतडीका कोषाध्यक्ष रमेश पाण्डेयले जानकारी दिए।
जिल्ला कार्यसमितिका पदाधिकारी, पूर्व केन्द्रीय सदस्य, पूर्व पदाधिकारी र पूर्व सभापतिहरूले प्रशिक्षण दिनेछन्।
सुर्नया गाउँपालिकामा भदौ १० गते, पञ्चेश्वर गाउँपालिकामा भदौ ११ गते, मेलौली नगरपालिकामा र शिवनाथ गाउँपालिकामा भदौ १२ गते, दशरथचन्द नगरपालिकामा भदौ १३ गते, पुर्चौंडी नगरपालिकामा भदौ १५ गते र पाटन नगरपालिकामा भदौ १६ गते प्रशिक्षण कार्यक्रम सञ्चालन हुनेछ। डिलाशैनी गाउँपालिका र सिगास गाउँपालिकाको हकमा मिति पछि तोकिने जनाइएको छ।
यसअघि बसेको जिल्ला कार्यसमिति बैठकले जिल्लामा रहेका पार्टीका क्रियाशील सदस्यहरूको सदस्यता अनुमोदन गर्ने निर्णय लिइसकेको छ। यसैगरी, पार्टीबाट निर्वाचित जनप्रतिनिधि र पार्टी पदाधिकारीहरूलाई भदौ १५ गतेभित्र लेबी बुझाउन आग्रह गरिएको र नबुझाए पार्टीको महाधिवेशनमा भाग लिन नदिने निर्णयसमेत सो पार्टीले गरेको छ।
मंसिर ९ गतेदेखि १३ गतेसम्म १४औं महाधिवेशन गर्नेगरी नयाँ कार्यतालिका सार्वजनिक गरेको कांग्रेसले तल्लो तहको अधिवेशन भदौ १८ देखि कात्तिक १२ गतेसम्म सम्पन्न गर्ने जनाएको छ।





प्रतिक्रिया