काठमाडौं – सत्तारूढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा तानाशाह बन्न खोजेको आरोप लगाएका छन्।
बिहीबार नेपाल महिला संघ काठमाडौंले मंगलादेवी सिंहको २५ औँ स्मृति दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा नेता सिंहले पार्टी क्रियाशील सदस्यता मनलाग्दी गरेको र अब उनीहरूलाई समान व्यवहार नगरेर तानाशाह बन्न खोजे त्यो सह्य नहुने बताए।
उनले सभापति देउवाले आफ्नो पक्षका क्रियाशील सदस्यलाई कुनै समयसीमामा नराख्ने र अरूलाई मात्रै नीति नियममा राख्ने किसिमको व्यवहार गर्न नमिल्ने बताए। नेता सिंहले सभापति देउवाले जान्दाजान्दै पनि हरेक ४ वर्षमा गर्नुपर्ने महाधिवेशनलाई पदमा बस्नका लागि पार्टीको विधान मिचेको बताए।
नेता सिंहले भने, ‘विधि, प्रक्रिया पूरा गर्ने, पदमा बस्ने, पार्टी सभापति हुने, तर पार्टी सभापति भएपछि हरेक ४ वर्षमा महाधिवेशन हुन्छ भनेर थाहा पाईकन पार्टीको विधानअनुसार काम किन नगरेकोरु भन्दै उनले आक्रोश व्यक्त गरे।
उनले विधानअनुसार पार्टीले चार वर्षमा महाधिवेशन गर्न सकेको भए अहिलेको समस्या नै नआउने पनि बताए।
यदि सभापतिले त्यसमा पनि जबरजस्ती गरे आफूहरूलाई पनि कस्ता कस्ता तानाशाहलाई ढालेको कांग्रेसको इतिहास थाहा भएको उनले दाबी गरे। ‘कस्ता कस्ता तानाशाहलाई ढालेका छौँ भने पार्टीभित्र कोही तानाशाह बन्न खोज्छ भने त्यसलाई हामी सशक्त रुपमा के गर्नुपर्छ गर्छौं’ उनले भने।
नेता सिंहले क्रियाशील सदस्यता छानबिनमा पनि व्यापक धाँदली भएको बताए। उनले नेपाली कांग्रेस जस्तो डेमोक्रेटिक पार्टीले पार्टीको महाधिवेशन निष्पक्ष हुनुपर्ने बताए।
नेता सिंहले आफ्नी आमा तथा महिला हकहित कर्मी स्व। मंगला सिंहले महिला मुक्ति आन्दोलनमा नेपाली महिलाहरुलाई पुरुषसरह नै अधिकार दिनुपर्छ भनेर लडेको स्मरण गर्दै महिलाहरुले आफ्नो हकहित सुरक्षाका लागि अझै लड्न आवश्यक रहेको बताए।





प्रतिक्रिया