काठमाडौं – काठमाडौं महानगरपालिकाले सबै वडामा पार्क निर्माण गर्ने अभियानमा सहयोग गर्न स्थानीयबासीलाई आह्वान गरेको छ।
महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सबै वडामा पार्क निर्माण गर्ने नीति कार्यान्वयनका लागि सहयोग गर्न सबै स्थानीयबासीलाई आह्वान गरेका हुन्।
शनिबार बिहान मेयर शाक्यले काठमाडौंको वडा नम्बर २८ मा निर्मित झिंगु इच्छुमती पार्कको उद्घाटन गर्दै काठमाडौं महानगरपालिका भित्र सबै वडामा पार्क निर्माणका लागि पर्याप्त बजेटको व्यवस्था भए पनि कतिपय ठाउँमा स्थानीयले सहयोग नगर्दा बन्न नसकेको गुनासोसमेत गरे।
पर्याप्त बजेट छ, तर पार्क निर्माणका लागि स्थानीयबासीको सहयोग नहुँदा कतिपय ठाउँमा बनाउन नसकिएको मेयर शाक्यको भनाइ छ। उनले राम्रो पार्क बनाउने र राम्रो करिडोर बनाउने काममा काठमाडौं महानगरपालिका प्रतिबद्ध रहेको पनि दोहोर्याए।
मेयर शाक्यले भने, ‘कम्तीमा पनि हरेक वडामा एउटा पार्क बनाउनुपर्छ भनेर नीति बनाएका छौं। सार्वजनिक जग्गाहरु धेरै छन्। बजेटको समस्या पनि छैन तर स्थानीयको सहयोग भएन भने काम गर्न सकिँदैन।‘
कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका पूर्व मेयर केशव स्थापितले भुकुटीमण्डवभित्र ठूलो प्रदर्शनी हल बनाउन काठमाडौं महानगरपालिकाको ध्यानाकर्षण गराए। उनले त्यसका लागि काठमाडौं महानगरपालिकाले समाज कल्याण परिषदसँग प्रस्ताव लैजान ढिलाइ गर्न नहुने पनि स्पष्ट पारे।
समाज कल्याणको क्षेत्रमा काम गर्ने र परिषद् मातहत रहेको भृकुटीमण्डपमा प्रदर्शनीस्थल बनाउने काममा ढिलाइ गर्न नहुने पूर्व- मेयर स्थापितको भनाइ छ।





प्रतिक्रिया