देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दोस्रो पुस्ताप्रति माधवको गुनासो- ओलीलाई फाल्न अघि बढ भने, फर्केर हेर्दा भागिसकेछन्

देशान्तर

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीविरुद्धको निर्णायक लडाइँमा एमालेका दोस्रो पुस्ताका नेताले मैदान छाडेर भागेको बताएका छन् । पेशागत महासंघ नेपाल बागमती प्रदेशले आज आयोजना गरेको ललितपुर जिल्लास्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो गुनासो व्यक्त गरेका हुन् ।

‘ओलीविरुद्धको लडाइँमा अगाडि बढ्नोस् जोसुकैलाई प्रधानमन्त्री बनाए हुन्छ तर केपी ओलीलाई फाल्नै पर्छ भनेका थिए’, उनले भने,‘’उनीहरुले भनेपछि ओलीलाई संसदबाटै फाल्न म लागेकै हो । सडकबाट फाल्न नसकिने भएकाले संसदको गतिविधिमा भाग नलिएर बहिष्कार गर्‍यौं । त्यहीकारण ओलीले सत्ता पनि छाड्नु पर्‍यो ।’

नेपालले ओलीलाई हटाउने कुरामा सहमति जनाएकाहरुले नै खुट्टा कमाएर हिंडेको पनि बताए । ‘केपी ओली हटाउने कुरामा सहमति जुटाउँदा केहीले खुट्टा कमाए’, दोस्रो पुस्ताका नेताबारे उनले थपे, ‘ओलीविरुद्धको लडाइँमा मलाई घचेटेर अगाडि बढ भने तर मैले पछाडि हेर्दा त कोही पनि छैन । सबै खुट्टा कमाएर हिंडिसकेछन् ।’

एमाले विभाजनलाई उनले एउटा सामान्य घटना भएको बताए । ‘एउटा व्यक्तिको राजनीतिक जीवनमा यस्ता घटना परिघटना भइरहन्छन् । केही केही व्यक्तिहरु पार्टी विभाजित हुँदा रमाउँछन्, नाच्छन्, भोज खान्छन्’, ओलीतिर लक्षित गर्दै उनले भने, ‘पार्टी फुटाएर रमाएको त्यही गुट फेरि पार्टीबाट पिलो निस्क्यो हाइसञ्चो भइरहेको छ भनिरहेको छ । अझै पनि खिल अझै बाँकी छ भनिरहेको छ । घाँडो पन्छियो भनिरहेका छन् ।’

उनले गलत विचार र प्रवृत्तिविरुद्ध जुध्ने सबै ढोका बन्द भएपछि विद्रोह गर्नुपरेको स्पष्ट पारे । ‘ओलीमा सुधारका कुनै लक्षण नभएपछि, प्रतिगमनबाट पछि हट्ने संकेत नदेखिएपछि विद्रोह गरेका हौं’, उनले भने, ‘सहमतिलाई नक्कली सहमतिको जामा पहिर्‍याउने काम गरेपछि, आफ्नो टाङमुनि छिराउने नियत देखिइसकेपछि हाम्रो सामु कुनै बाटो भएन । प्रतिगमनको बाटोमा नजान पटक-पटक आग्रह गर्‍याैं । तर नमानेपछि हामीले विद्रोहको बाटो रोजेका हौं ।’