
सत्तारुढ गठबन्धनले मन्त्रिपरिषद् विस्तारका लागि कसरत तीब्र पारेको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको डेढ महिना भन्दा पनि बढी समयसम्म मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा तीव्र आलोचना भइरहेका बेला गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्न लागेको हो ।
बिहान ९ बजे बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, माओवादी नेता नारायणकाजी श्रेष्ठ, नेकपा एकीकृत समाजवादी पार्टीबाट अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरुबीच छलफल हुने छ ।
माओवादी केन्द्रका नेता गणेश साहका अनुसार मन्त्रालय बाँडफाँटको टुंगो पनि आजै लाग्ने छ ।
सोमबार पनि सत्तारुढ गठबन्धनको बैठक बसेको थियो । मन्त्री छान्न जिम्मेवारी पाएका पाँचै दलका शिर्ष नेताहरुले अहिले मन्त्री छान्ने काम गरिरहेका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको डेढ महिनामा पनि मन्त्रिपरिषदले पूर्णता पाएको छैन ।
गठबन्धनमा आबद्ध दलहरुबीच मन्त्रालय भागबण्डामा सहमति हुन नसक्दा पछिल्ला बैठकहरुले पनि निकास दिन सकेन ।
आज सहमति जुटाएर मन्त्री बन्नेहरूको नाम टुंगो लगाउने र भोलि मन्त्रिमण्डल विस्तार गर्ने तयारी रहेको जनाइएको छ ।





प्रतिक्रिया