हेटौंडा – बागमती प्रदेशका नेकपा एमालेका १२ सांसदले नेकपा एकीकृत समाजवादी दल रोजेपछि मुख्यमन्त्री बनेको १३ दिनमै अष्टलक्ष्मी शाक्य अल्पमतमा परेकी छन् । १०९ सदस्यीय बागमती प्रदेश सभामा एमालेका सभामुखसहित ५६ सांसद थिए ।
त्यसैले भदौ २ गते तत्कालीन प्रदेश प्रमुख विष्णु प्रसाईंले शाक्यलाई एकल बहुमतको मुख्यमन्त्री नियुक्त गरेका थिए । तर दल विभाजन भएपछि नेकपा एमालेका १२ सांसदले नेकपा एकीकृत समाजवादी रोजेपछि प्रदेशसभामा एमाले सांसदलको संख्या ४४ मा झरेको छ ।
प्रदेशमा सरकार गठनका लागि ५५ सांसदको समर्थन आवश्यक पर्छ । नेकपा एमालेबाट प्रदेश सभा सदस्य भएका उनीहरुले पार्टी विभाजित भएसँगै मंगलबार बागमती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा पुगेर नेकपा (एकीकृत समाजवादी) पार्टी रोजेका हुन् ।
प्रदेश सांसदहरु राजेन्द्र पाण्डे, बसुन्धरा हुमागाईं, लक्ष्मण लम्साल, पार्वती सिलवाल, माधव पौडेल, मुनु सिग्देल, वसन्त मानन्धर, राजेन्द्रमान श्रेष्ठ, इन्द्रमाया गुरुङ, रमा आले मगर, सामाजिक विकास मन्त्री कृष्ण खनाल र कुसुमकुमार कार्कीले नयाँ पार्टीको पक्षमा सनाखत गरेका हुन् ।





प्रतिक्रिया