देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

लुम्बिनी प्रदेश सभाको बैठक पुन : स्थगित

देशान्तर

बुटवल – प्रमुख विपक्षी दल एमालेको अवरोधका कारण पटक–पटक स्थगित हुँदै आएको लुम्बिनी प्रदेश सभाको बैठक पुनः स्थगित भएको छ ।

भदौ १७ गतेका लागि बोलाइएको प्रदेश सभाको नवौं अधिवेशनको पाचौं बैठक सूचना टाँसेर भदौ ३० गतेसम्मका लागि स्थगित गरिएको हो ।

प्रदेश सभा बैठक सुरू गर्ने विषयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग सहमति हुन नसकेको र भदौ १८ गते नेपाली कांग्रेसको वडा अधिवेशन समेत रहेकाले भदौ १७ गतेका लागि बोलाइएको बैठक ३० गते बस्ने गरी स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ ।

विपक्षी दल एमालेले आफूहरूको माग सम्बोधन नभएसम्म बैठक अवरुद्घ गर्ने अडान छाडेको छैन ।

नेकपा एमालेले सूर्य चुनाव चिह्न लिएर निर्वाचित तत्कालीन नेकपाकी प्रदेशसभा सदस्य विमला कुमारी खत्री वली र स्वतन्त्र राजनीतिक समूहका अजय शाहीलाई प्रदेश सभा सदस्यबाट पदमुक्त गर्न माग गर्दै बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रदेशसभा सचिवालयले भने सचिवालयको रेकर्डमा वली नेकपा माओवादी केन्द्र र शाही स्वतन्त्र राजनीतिक समूह उल्लेख भएकाले एमालेको पत्रको आधारमा उनीहरूलाई पदमुक्त गर्न नमिल्ने जानकारी एमालेलाई गराएको छ ।

अदालतले नेकपा खारेज गरेपछि प्रदेश सभा सदस्य वलीले नेकपा माओवादी केन्द्र रोजेकी छन् भने शाहीले आफू स्वतन्त्र राजनीतिक समूहबाट चुनाव लडेकाले एमालेको ह्वीप नलाग्ने दाबी गर्दै आएका छन् ।