देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कांग्रेस महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा रिट

देशान्तर

काठमाडौं – सत्तारुढ नेपाली कांग्रेसको १४ औं महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर भएको छ ।

नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले अधिवक्ता भुपेन्द्र प्रसाद पोखरेलमार्फत बिहीबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

कोरोना महामारीका कारण सरकारले निषेधाज्ञा जारी गरेकै अवस्थामा दशौं हजारको उपस्थिति रहने महाधिवेशन प्रक्रिया शुरु गरिनु जनस्वास्थ्यको मापदण्ड प्रतिकूल हुने भन्दै रिटमा त्यसलाई रोक्नका लागि उपयुक्त आदेश दिन माग गरिएको छ । रिट आज सर्वोच्चमा दर्ता भएको र आइतबार यसको पेशी तोकिएको पोखरेलले जानकारी दिए ।

नेपाली कांग्रेसले भदौ १८ देखि वडा तहको अधिवेशन गरेर १४ औं महाधिवेशन प्रक्रिया शुरु गर्ने यसअघि नै निर्णय गरिसकेको छ ।

त्यसअघि गत असार ४ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले पाँचौं पटक कार्यतालिका परिमार्जन गर्दै भदौ १६–१९ मा महाधिवेशन गर्ने निर्णय गरेको थियो । छैटौं पटक परिमार्जित कार्यतालिकाअनुसार अब यसअघि महाधिवेशन हुने भनिएको भदौ १८ गते कांग्रेसले वडाहरूको अधिवेशन गर्ने भएको छ । यस्तै गाउँ(नगरपालिका अधिवेशन भदौ २७ गते गर्ने योजना कांग्रेसले बनाएको छ ।

प्रदेश क्षेत्र क–ख को अधिवेशन असोज १ गते हुनेछ भने संघीय निर्वाचन क्षेत्रको अधिवेशन असोज ५ गते गरिने छ । जिल्ला अधिवेशन असोज १० का लागि निर्धारण गरिएको छ । कांग्रेसले प्रदेश कमिटीको अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म गर्ने योजना बनाएको छ । यसअघि आन्तरिक विवादका कारण कांग्रेस पटक–पटक महाधिवेशनको कार्यतालिका परिमार्जन गर्दै आएको थियो ।