जनकपुरधाम – जनता समाजवादी पार्टी (जसपा)ले सांसद आफ्नो पक्षमा राख्न प्रदेश २ संसदीय दलको बैठक सुरु भएको छ ।
शनिबार जनकपुरधाम शिव चोकस्थित होटेल वेलकममा बैठक सुरु भएको हो । समसामयिक विषयमा संसदीय दलको बैठक बसेको भूमि, व्यवस्था तथा कृषि सहकारी राज्यमन्त्री योगेन्द्र यादवले जानकारी दिए । उनका अनुसार बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादवसहितका शिर्ष नेताहरुको सहभागिता छ ।
महन्थ ठाकुर नेतृत्त्वका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) तर्फ प्रदेश सांसदहरूले सनाखत गर्न थालेपछि आफ्ना पक्षमा रहेका सांसदहरू जोगाउन बैठक बसेको बुझिएको छ । गत बिहीबार समाजवादी फोरमबाट प्रदेशसभामा निर्वाचित प्रल्हाद गिरीले लोसपाको पक्षमा सनाखत गरेका थिए ।
‘‘पार्टीलाई थप मजबुद बनाउन र समसामयिक विषयमा बैठक बोलाइएको हो,’’ बैठकमा सहभागी एक नेताले भने, ‘‘सांसदहरुलाई एक ढिक्का भएर पार्टीलाई मजबुत बनाउनु पर्छ ।’’
तत्कालीन समाजवादी फोरमका ३० र राजपाका २५ गरी प्रदेश २ प्रदेशसभामा जसपाका ५५ सांसद छन् । तत्कालीन राजपाबाट मन्त्री बनेका नवलकिशोर साह, रामनरेश राय, पूर्वराज्यमन्त्री सुरेश मण्डलसहित मनिष सुमन, रानीशर्मा तिवारीलगायत १० जना प्रदेश सांसद जसपामै खुलेका छन् ।
आफ्नो पक्षमा प्रदेश सांसद र स्थानीय तहका प्रतिनिधि तान्न जसपा अध्यक्ष यादव र लोसपा अध्यक्ष ठाकुर पछिल्लो तीन दिनदेखि जनकपुरमा छन् । निर्वाचन आयोगले गरेको निर्णयअनुसार अहिलेसम्म जसपाका ५५ मध्ये १२ प्रदेश सांसदले लोसपाको पक्षमा सनाखत गराइसकेका छन् ।
लोसपमा जितेन्द्र सोनल, अभिराम शर्मा र उपेन्द्र महतो खुले पनि सनाखत गराएका छैनन् ।





प्रतिक्रिया