काठमाडौं – एमाले विभाजित गरेर गठित नेकपा (एकीकृत समाजवादी) ले केपी ओली पक्षले फैलाएका भ्रमको सशक्त रूपमा खण्डन गर्न कार्यकर्तालाई निर्देशन दिएको छ ।
माधवकुमार नेपाल नेतृत्वको समाजवादीले शनिबार पहिलो अन्तरपार्टी निर्देशन (अपानि) जारी गर्दै आफूहरूबारे ओली पक्षले फैलाएका भ्रमको सशक्त खण्डन गर्न निर्देशन दिएको हो । नेपाल नेतृत्वको समाजवादीले जनता र कार्यकर्ताबीचमा पार्टी पुनर्गठनको औचित्य पुष्टिका लागि व्यापक प्रचारप्रसार अभियान चलाउन पनि भनेको छ ।
ओलीले कम्युनिष्ट आन्दोलनलाई दक्षिणपन्थी अवसरवादतर्फ धकेलेको निचोड निकाल्दै समाजवादीले पार्टी विभाजन कम्युनिष्ट आन्दोलनको रक्षाका निम्ति गरिएको जायज ‘विद्रोह’ भएको दाबी गरेको छ ।
अपानिमा ओलीले पार्टी नीतिमुखी, विधि पद्धतिअनुसार नचलाएर स्वेच्छाचारी ढंगले चलाएको आरोप लगाउँदै उनमा व्यक्तिवादी अहंकार हावी भएकाले पार्टी फुट्न पुगेको आरोप लगाइएको छ । अलग्गै भेला गरी पार्टी फुटाउने र कब्जा गर्ने उद्देश्यले ओली समूहले ७ पुसमा १,५०१ जनाको केन्द्रीय कमिटी निर्माण गरेपछि पार्टीमा थप विवाद चुलिएको दाबी नेपाल पक्षले गरेको छ ।
‘ओलीले २८ फागुन २०७७ मा पार्टी विधान, पार्टीमा स्थापित विधि र पद्धति विपरीत केन्द्रीय कमिटीका सबै सदस्यहरूलाई खबर नगरी ‘केन्द्रीय कमिटीको विशेष बैठक’ भन्ने नाम दिएर आफ्नो गुटको मात्र बैठक बसी एमालेको नवौं महाधिवेशनका निर्णयहरू उल्ट्याउने, महाधिवेशनबाट पारित पार्टी विधानमा संशोधन गर्ने, महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको पद खारेज गर्ने, पार्टी सदस्य नै नरहेका व्यक्तिलाई केन्द्रीय कमिटीका राख्ने, आफ्नो इच्छा अनुसारको संख्याको केन्द्रीय कमिटी बनाउने जस्ता निर्णय गरी पार्टीलाई विभाजनको दिशामा धकेलिदिए,’ अपानिमा भनिएको छ ।
ओली समूहको त्यही निर्णयबाट एमाले विभाजन सुरु भएको दाबी नेपाल पक्षले गरेको छ । ओलीका यस्ता बलमिच्याइँ र मनमौजी सम्पूर्ण निर्णय अवैधानिक भएकाले तिनलाई सच्याइ पार्टीलाई २ जेठ २०७५ को अवस्थामा पुर्याउन प्रयत्न गरिए पनि नसकिएको नेपाल पक्षले दाबी गरेको छ । ओलीमा देखिएको दम्भ र घमण्ड सच्याउन तयार नभएपछि पार्टी पुनर्गठन गरिएको दाबी समाजवादीले गरेको छ ।





प्रतिक्रिया