ललितपुर – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलवायु परिवर्तनको असर सामना गर्न कठिनाइ हुँदै गएको बताएकी छन्।
निजामती कर्मचारी दिवसका सन्दर्भमा ललितपुर महानगरपालिका–२ स्थित इन्द्रायणी उद्यानमा सोमबार वृक्षरोपण गरेपछि उनले औद्योगिक मुलुकको गतिविधिबाट हरितगृह ग्यास उत्सर्जन हुँदा जलवायु परिवर्तन भएको जनाउँदै नेपालजस्ता मुलुकमा जलवायु परिवर्तनको नराम्रो प्रभाव पारेको बताइन्।
मन्त्री भुसालले भनिन्, ‘विकसित मुलुकका क्रियाकलापको परिणामले जलवायु परिवर्तनको असर सहनुपरेको छ, नखाएको विष लाग्ने अवस्था छ।’ औद्योगिक र आणविक विकासका कारण जलवायु परिवर्तन भई अप्रत्याशित विपद्को सामना गर्नु परेको बताउँदै मन्त्री भुसालले भनिन्, ‘देशका विभिन्न भागमा भूक्षयको मार खेप्नु परेको छ, जसका कारण हाम्रो दैनिक जीवन प्रभावित भएको छ।’
उनले सिन्धुपाल्चोकको हेलम्बुमा गएको भूक्षयका कारण ठूलो जनधनको क्षति हुनाका साथै मेलम्ची खानेपानी आयोजना प्रभावित हुँदा काठमाडौं उपत्यकावासीका घरका धारामा आएको पानीसमेत रोकिएको बताइन्।
‘भूक्षयपछि आएको बाढी र त्यसले पु¥याएको क्षतिका कारण मानवीय एवं भौतिक क्षेत्री बेहोर्नु परेको छ‚’ मन्त्री भुसालले भनिन्‚ ‘मनाङ, रोल्पा, बागलुङलगायत क्षेत्रमा ठूलो असर पुर्याएको छ।’
उनले वडालाई भौतिक तथा सुरक्षाका दृष्टिकोणले सम्पन्न बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने वडाध्यक्ष राजेशकुमार महर्जनसहित सबैलाई धन्यवाद व्यक्त गरिन्।





प्रतिक्रिया