काठमाडौँ — नेकपा (एमाले)का सांसद महेश बस्नेतले सभामुख अग्निप्रसाद सापकोटाले राजनीतिक पक्षधरता देखाएको बताएका छन् ।
एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेर सभामुख सापकोटाले एमालेप्रति पूर्वाग्रह राखेको माओवादी अध्यक्ष पुष्पकमल दाहालको इशारामा चलेको आरोप लगाएका हुन् ।
युवा संघले सोमबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सांसद बस्नेतले राजनीतिक पूर्वाग्रह नत्यागेमा सभामुखको विरोध संसद्मा नै गरिने चेतावनी दिएका छन् ।
वैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने क्रममा संसद् बैठक बहिष्कार गरेर पार्टीको ह्वीप उल्लंघन गर्ने सांसदलाई एमालेले कारबाही गरेको र त्यसलाई सभामुख सापकोटाले राजनीतिक पूर्वाग्रह राखेर पदमुक्त नगरेको बस्नेतको भनाइ थियो ।
एमालेले भदौ १ गते संघीय संसद् सचिवालयलाई पत्र लेखेर माधवकुमार नेपाललगायत १४ सांसदलाई पदमुक्त गर्न भनेको थियो । सभामुख सापकोटाले त्यो पत्रअनुसार कारबाही नगरेपछि सांसद बस्नेतलगायतले सभामुखको कार्यकक्षमा गएर धर्ना दिएका थिए ।
नेपालको नेतृत्वमा भदौ ९ गते नयाँ पार्टी गठन भएपछि सभामुखले कारबाही सिफारिसको औचित्य नभएको निर्णय गरेका थिए । जसको एमालेले विरोध गर्दै आएको छ । संघीय संसद्को आगामी अधिवेशन बुधबार ४ बजेबाट सुरू हुँदैछ ।
सांसद बस्नेतले एमालेबाट विभाजित भएर गठन भएको नेकपा (एकीकृत समाजवादी)ले एमालेलाई चुनौती दिन नसक्ने दाबी गरे । व्यक्तिगत स्वार्थ र मन्त्रीको लोभ गरेकाहरू पार्टी विभाजित गरेर गएकाले उनीहरूले एमालेलाई चुनौती दिन नसक्ने उनको भनाइ थियो ।





प्रतिक्रिया