देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

जनगणनाको नयाँ कार्यतालिका सार्वजनिक

देशान्तर

काठमाडौँ — केन्द्रीय तथ्यांक विभागले १२औं राष्ट्रिय जनगणनाको नयाँ कार्यतालिका सार्वजनिक गरेको छ ।

थापाथलीस्थित विभागको सभाकक्षमा बुधबार पत्रकार सम्मेलन गर्दै तालिका सार्वजनिक गरेको हो । जनगणना कार्य कोभिडका कारण गत वैशाख १६ गतेबाट लकडाउन जारी भएपछि स्थगित भएको थियो । ‘स्थिति सहज बन्दै गएको हुँदा विभागले नयाँ कार्यतालिका निर्माण गरी पेस गरेको र सो तालिका मन्त्रिपरिषद्बाट पुनस् जनगणना गर्न स्वीकृत गरेको हुँदा सबैका जानकारीका लागि सार्वजनिक गरेका छौं,’ विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले पत्रकार सम्मेलनमा भने, ‘आगामी कात्तिक २५ गतेबाट मंसिर ९ गतेभित्र देशभरि एकसाथ मूल जनगणना सम्पन्न हुनेछ ।’

तालिकाअनुसार जनगणनाका खटाइने ८ हजार ५ सय सुपरिवेक्षकलाई यही भदौ २६ गतेभित्र नियुक्त गरी तत्कालै दुई दिने तालिम दिइने छ । उनीहरू भदौ ३० गतेबाट असोज १८ गतेभित्र घर तथा घर परिवार सूचिकरण गर्न खटाइने छ । काठमाडौं जिल्लाभित्र ट्याबलेट प्रयोग गरिनेछ भने अन्य जिल्लामा लिखित प्रश्नावली प्रयोग गरिने छ ।

कात्तिक पहिलो साता ३९ हजार गणक नियुक्त गरी दोस्रो साता चार दिने तालिम दिइने छ । पत्रकार सम्मेलनको अध्यक्षता गरेका राष्ट्रिय योजना आयोगका सचिव केवलप्रसाद भण्डारीले सुपरिवेक्षक, गणक र कर्मचारी सबैलाई कार्यथलोमा खटाउनुअघि कोभिड विरुद्धको खोप दिइने बताए ।

जनगणनामा ८० वटा प्रश्नावली निर्माण गरिएको छ । पहिलो चरण घर तथा घरपरिवार सूचीकरण प्रश्नावली सम्पन्न हुनेछ भने गणकले प्रत्येक घर परिवार मुलीसँगै सोधबुझ गरी मुख्य प्रश्नावली भर्ने छन् । सोही समयमा सुपरिवेक्षकले प्रत्येक वडा कार्यालयमा गई त्यस क्षेत्रको भूगोल, बसोबास गर्ने जातजाती, भाषाभाषी, धार्मिक, आर्थिक, सामाजिक अवस्थाजन्य सामुदायिक प्रश्नावली भर्नेछन् । देशभरि ७० लाख घरपरिवार रहेका छन् भने ३ करोड ३ लाखभन्दा बढी जनसंख्या रहेको प्रक्षेपण गरिएको छ ।