काठमाडौँ – सत्तारुढ गठबन्धनका कांग्रेस बाहेक अन्य तीन शीर्ष नेताबीच सरकारमा सहभागिता र एमसीसी विवादबारे छलफल भएको छ ।
हात्तीवनस्थित सिटी स्केप अपार्टमेन्टमा माओवादी अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच छलफल भएको हो । छलफलमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी छन् ।
एमसीसीका सन्दर्भमा कांग्रेस र सत्ता गठबन्धनका अन्य दलबीचमै कुरा मिलेको छैन । त्यस्तै माधव नेपाल र उपेन्द्र यादवबीच मन्त्रालय बाडफाँडमा समेत विवाद भएकाले प्रचण्डले मध्यस्थता गरिरहेका छन् ।
प्रचण्डकै पहलमा आजको वार्ता भएको स्रोतले जनाएको छ । उद्योग र भौतिक पूर्वाधार मन्त्रालयमा दुवै दलले दावी गरेका छन् । यसअघि सत्तारुढ गठबन्धनको बैठकमै नेपाल र यादवबीच विवाद भएको थियो ।
एमसीसीकी उपाध्यक्ष फातिमा सुमार लगायतको टोली चार दिने नेपाल भ्रमणमा क्रममा आज नेपाल आइपुगेका छन् । माओवादी अध्यक्ष प्रचण्डले अहिलेकै अवस्थामा एमसीसी संसदबाट पास गर्न नसकिने बताउँदै आएका छन् । फातिमाले नेताहरुसँग पनि भेट गर्ने भएकोले साझा धारणा दिनको लागि तीन दलका चार नेताबीच झण्डै दुई घण्टा छलफल भएको हो ।
छलफलमा सरकार विस्तारको विषयमा पनि कुरा भएको छ । असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका देउवाले सोही दिन ४ सदस्यीय मन्त्रिमण्डल बनाए पनि थप मन्त्री टुंगो लगाएका छैनन् ।





प्रतिक्रिया