देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सत्ता गठबन्धन बैठक: प्रधानमन्त्रीले मन्त्रीको नाम मागेपछि साँझ फेरी बस्ने गरी स्थगित

देशान्तर

काठमाडौँ — सत्ता गठबन्धनका नेताहरुले अब चाँडै मन्त्रिपरिषद् विस्तार गरेर सरकार र संसदका कामलाई गति दिनुपर्ने निष्कर्ष निकालेका छन् । शुक्रबार बिहान बालुवाटारमा बसेको गठबन्धनको बैठकमा नेताहरुले मन्त्रिपरिषद् विस्तारमा भएको ढिलाईको प्रभाव सबैतिर परेको र त्यसले नकारात्मक असर गइरहेको बताएका थिए ।

मन्त्रिपरिषद् विस्तारमा अब पनि ढिला गर्न नहुने नेताहरुको जोड थियो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले दलहरुलाई मन्त्रीको नाम छिटो दिन आग्रह गरेका थिए । प्रधानमन्त्रीले मन्त्रीको नाम मागेपछि नेताहरुले दलमा छलफल गरेर नाम दिने भनेका छन् । नेताहरु शुक्रबारै साँझ ६ बजे पुनः बस्ने गरी उठेका छन् ।

बैठकपछि राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले बैठकमा मन्त्रिपरिषद् विस्तार, संसद् सञ्चालन र गठबन्धनलाई मजबुत बनाउने विषयमा छलफल भएको जानकारी दिइन् ।

पौडेलले संसद्को शुक्रबारको बैठकमा प्रस्तुत हुने अध्यादेश र विभिन्न विचाराधीन विधेयकहरुमाथि समेत छलफल भएको बताइन् । ‘अहिले अध्यादेशहरु टेबल गर्ने तयारी छ, ती नै विषयमा छलफल भयो । साथै संसद्लाई निरन्तर बिजनेस दिनुपर्ने छ । त्यसका लागि पनि सरकारले कस्ता विधेयकहरुलाई अघि बढाउने रु भन्ने विषयमा पनि सामान्य छलफल भयो,’ उनले भनिन् ।

संसद्‍बाट एमसीसी पास गर्ने विषय र एमसीसीकै उपाध्यक्ष फतिमा सुमारलगायत टोलीको नेपाल भ्रमणले राजनीति गर्माएका बेला बसेका गठबन्धनको बैठकमा एमसीसीका विषयमा पनि छलफल भयो । एमसीसी उपाध्यक्ष फातिमा सुमारसहितको टोलीसँग भेटवार्ता गरिसकेका नेताहरुले भेटघाट र कुराकानीबारे जानकारी गराएका थिए । प्रधानमन्त्री देउवासँग सुमारले शुक्रबार अपरान्ह चार बजे भेटवार्ता गर्ने कार्यक्रम छ ।

नेताहरुले गठबन्धनलाई थप मजबुत बनाएर अघि बढ्नुपर्ने निष्कर्ष निकाल्दै गठबन्धनका बैठकहरुलाई बाक्लो बनाउने सहमति गरेका छन् ।

बैठकमा कांग्रेसबाट सभापति एवम् प्रधानमन्त्री देउवा, महामन्त्री पूर्णबहादुर खड्का, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी(जसपा)का अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल सहभागी थिए ।