देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमसीसी सम्झौतामा राष्ट्रिय सहमति हुनुपर्छ प्रचण्ड

देशान्तर

काठमाडौँ — नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसी सम्झौतामा राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन् ।

शुक्रबार बिहान खुमलटारमा नेपालको ४ दिने औपचारिक भ्रमणमा रहेकी एमसीसी उपाध्यक्ष फातिमा सुमारसहितको टोलीसँगको भेटमा दाहालले एमसीसीमा राष्ट्रिय सहमति वा कम्तीमा सत्तारूढ दलहरूबीच एकमत हुनुपर्ने बताएका हुन् ।

दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार विवादका बेला यसलाई एकल रूपमा अगाडि बढाउन गाह्रो हुने दाहालले बताएका थिए ।

खुमलटारमा भएको भेटवार्ताका बारेमा जानकारी दिँदै सापकोटाले भने, अध्यक्षलाई एमसीसीको टोलीले आफ्नो भ्रमणको उद्देश्य बतायो । एमसीसी अगाडि बढाउने र यसमा उठेका प्रश्नबारे प्रस्ट पार्ने प्रयास गरेको थियो ।

त्यसपछि अध्यक्षले अहिले एमसीसीबारे राष्ट्रिय रुपमा प्रश्न उठेका छन । विवादका बेला यसलाई एकल रूपमा अगाडि बढाउन गाह्रो छ । यसमा राष्ट्रिय सहमति वा कम्तीमा सत्तारूढ गठबन्धनका दलहरूबीच एकमत हुनुपर्छ भन्नुभयो ।

यसअघि बिहीबार सुमारसहितको एमसीसीको उच्च नेतृत्वले प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र जसपाका अध्यक्षद्वय उपेन्द्र यादव र बाबुराम भट्टराईलाई भेटेको थियो । त्यस्तै शुक्रबार दिउँसो प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मालाई भेट्ने कार्यक्रम छ ।