काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार राति निधन भएका राष्ट्रिय खेलकुद परिषद् ९राखेप०का पूर्वसदस्यसचिव एवं पूर्वराजदूत रुक्मशम्शेर राणाप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्।
नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले बत्तीसपुतलीस्थित राणाको निवास पुगेर उनको पार्थिव शरीरमा माल्यार्पण गरी पार्टीको चारतारे झण्डा ओडाएर श्रद्धासुमन व्यक्त गरे। राणाको शुक्रबार राति ८५ वर्षको उमेरमा निधन भएको उनका ज्वाइँ अनिलकेशरी शाहले जानकारी दिए। राणाको आजै पशुपतिस्थित आर्यघाटमा दाहसंस्कार गरिने उनले बताए।
राणालाई श्रद्धाञ्जलि दिन कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरु प्रकाशमान सिंह, शेखर कोइराला, डा मीनेन्द्र रिजाल, डा प्रकाशशरण महत, उदयशमशेर राणालगायत उनको निवासमा पुगेका थिए। राणा मिर्गौला, मधुमेह र उच्च रक्तचापबाट पीडित थिए। मिर्गौला प्रत्यारोपणपछि उहाँ नियमितरूपमा डायलायसिस गर्दै आएका थिए। राति एक्कासी स्वास्थ्यमा खराबी आएपछि घरमै चिकित्सक र एम्बुलेन्स बोलाइए पनि अस्पताल लैजान नपाउँदै राणाको निधन भएको उनका ज्वाइँ शाहले बताए। राणाका एक श्रीमती र एक छोरी छन्।
राणाले राखेपको दुईपटक सदस्यसचिवका रूपमा भूमिका निर्वाह गर्नुभएको थियो। उनी पहिलोपटक २०५० सालदेखि २०५१ सम्म तथा दोस्रोपटक २०५४ सालदेखि २०५५ सम्म राखेपको सदस्यसचिव रहेका थिए। राणा २०५९ सालमा नेपाल ओलम्पिक कमिटी ९एनओसी०को अध्यक्षसमेत बनेका थिए। एनओसीले पछिल्लो समय राणालाई सम्मानस्वरुप मानार्थ अध्यक्ष बनाएको थियो।





प्रतिक्रिया