देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

संखुवासभा सामूहिक हत्याकाण्डका आरोपीले अपराध स्वीकार गरेको प्रहरीको भनाइ

देशान्तर

काठमाडौँ — संखुवासभाको मादी नगरपालिका- १ उम्लिङमा एक परिवारका ६ जनाको हत्या गरेको आरोपमा प्रहरीले २५ वर्षीय छिमेकी लोकबहादुर कार्कीलाई पक्राउ गरेको छ । पारिवारिक रिसइवीका कारण लोकबहादुरले हत्या गरेको प्रहरीको अनुसन्धानमा देखिएको छ ।

गत सोमबार ५७ तेजबहादुर कार्कीसहित ६ जनाको हत्या भएको अवस्थामा शव फेला परेको थियो । तेजबहादुर र लोकबहादुर काका-भतिज हुन् । लोकबहादुरको घर घटना भएको ठाउँबाट करिब १ सय ५० मिटरको दूरीमा पर्छ ।

प्रहरीले यस सम्बन्धी विस्तृत विवरण आइतबार पत्रकार सम्मेलन गरेर जानकारी गराउने तयारी गरेको छ ।

आरोपीले प्रहरीलाई दिएको बयानमा कसुर स्वीकार गरेको अनुसन्धानमा संलग्‍न एसपी भीम दाहालले बताए । घटनाको प्रकृति र अध्ययनले आरोपीले भनेका कुराहरुलाई पनि पुष्टि गर्छ, एसपी दाहालले इकान्तिपुरलाई भने,आरोपीले हत्या गरेको शत प्रतिशत पुष्टि हुन्छ । हत्याको विविध पक्ष र कारणबारे आइतबार पत्रकार सम्मेलन गरेर विस्तृत रुपमा जानकारी गराउँछौं ।

प्रहरी स्रोतका अनुसार लोकबहादुरले सुरुमा तेजबहादुरको हत्या गरेका थिए । परिवारका अन्य सदस्यले देखेपछि उनीहरुको पनि हत्या गरेको प्रहरी स्रोतले जनाएको छ । एकजनाको हत्या गर्दा अरुले देखेपछि चिन्छ भनेर आरोपीले अन्यको हत्या गरेको देखिन्छ, स्रोतले भन्यो ।

गत सोमबार तेजबहादुर कार्की, आमा पार्वता कार्की, श्रीमती मनमाया कार्की, बुहारी रञ्जना कार्की, नाति दीपक कार्की र नातिनी गोमा कार्कीको हत्या भएको अवस्थामा शव फेला परेको थियो ।

घटनास्थलमा प्रदेश १ का प्रहरी प्रमुख डीआईजी अरुणकुमार बीसी, केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी) र संघीय इकाई प्रहरी कार्यालय धरानसमेतको ठूलो टिम परिचालन भएको थियो ।