देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

दशैंदेखि ‘जातको प्रश्न’को दोस्रो सिजन प्रसारण हुँदै

देशान्तर

काठमाडौं – टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’को दोस्रो सिजन असोज २२ गतेदेखि प्रसारण हुने भएको छ ।

१२ एपिसोड रहेको कार्यक्रमको पहिलो सिजनले सफलता प्राप्त गरेपछि समता फाउन्डेसनले दोस्रो सिजन ल्याउन लागेको हो । अहिले दोस्रो अध्यायको लागि एपिसोड छायांकन भैरहेको छ ।

दोस्रो सिजनलाई अभिनेताद्धय राजेश हमाल र दयाहाङ राई, राष्ट्रिय मानवअधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारी, गायक प्रकाश सपुत र संचारकर्मी निश्मा ढुंगाना चौधरीले संचालन गर्ने भएका छन् ।

शान्ता नेपालीको नेतृत्वमा निर्माण हुने जनाइएको कार्यक्रमको दोस्रो सिजन पनि १२ भागको हुनेछ ।

कार्यक्रममा बोल्दै अभिनेता हमालले जतिसुकै राम्रो संविधान बनाएपनि व्यवहारमा उतार्न ठूलो चुनौति रहेको बताए । जातको प्रश्नको पहिलो सिजन सुटिङ गर्दा आफूले जातिय विभेदलाई गहिराइबाट बुझ्न अनुभव पाएको बताउँदै हमालले संविधानमा लेख्नुभन्दा व्यवहारमा उतार्नु महत्वपूर्ण रहेको बताए ।

अर्का होस्ट तथा अभिनेता राईले समुदायमा गरिने जातीय विभेद एउटा समुदायको मात्र चासोको विषय नरहेको बताए । ‘जब हाम्रो समाजमा जातकै आधारमा विभेद गरिन्छ भने त्यो समाजकै ठूलो समस्या हो । म पनि समाजको माइलो जातको रुपमा हुर्किएको मान्छे हुँ । मैले पनि विभेदका कुराहरु भोगेको छु ।’

कार्यक्रममा नेपालमा रहेको जातिय विभेदको समस्या समाधान र दलितहरुले भोगिरहेको यथार्थता र अनुभवलाई समेट्ने गरिन्छ । नेपाल प्रेससँग कुरा गर्दै निर्देशक नेपालीले पहिलो सिजनजस्तै दोेस्रोलाई पनि दर्शकले रुचाउने बताइन् ।

‘समता फाउण्डेशनले जात सबैको साझा मुद्दा हुनुपर्छ र जातबारे सबै जात(जातिले संवाद गर्नुपर्छ भन्ने भाष्यको निर्माण गर्न ‘जातको प्रश्न’ को दोस्रो सिजन शुरू गरेको हो’ जारी विज्ञप्तिमा उल्लेख छ । दशैं घटस्थापनाको भोलिपल्टदेखि दोस्रो सिजन सुरु हुनेछ ।