काठमाडौँ — संसद्मा देखिएको अवरोध हटाउन सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमाले सहभागी नहुने भएको छ । सभामुख सापकोटाले सोमबार दिउँसो साढे २ बजे संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा सर्वदलीय बैठक बोलाएका छन् ।
सभामुखले बोलाएको सर्वदलीय बैठकमा एमालेले उठाएका प्रश्नको जवाफ ननिस्किने भएकाले नजाने निर्णय भएको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
सभामुखले समस्या समाधान गर्ने तरिका नै अपनाउनुभएन । हामीले उठाएका प्रश्नको जवाफमा शेरबहादुर देउवा, प्रचण्ड, माधव नेपाल, उपेन्द्र यादवलाई बोलाएर मिल्दैन, भट्टराईले भने, सिधै बालकोट (केपी शर्मा ओलीको निवास) मा बैठक गरौं न, केको ल्याङफ्याङ हो सभामुखको ?
सभामुखको भूमिका बदनियतपूर्ण रहेको भट्टराईले आरोप लगाए । ‘बैठकमा देउवा, प्रचण्ड र माधवकुमार नेपाललाई बोलाएर आफ्नो पक्षमा माहोल सिर्जना गर्न खोजिएको हो ।
एमालेबाट निर्वाचित १४ सांसदलाई पदमुक्त गर्नुपर्ने एमालेको माग छ । पार्टीले कारबाही गर्दा पनि पदमुक्तिको सूचना जारी नगरिएको भन्दै एमालेले संसद् अवरुद्ध गरिरहेको छ । सोही विषयमा सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ ।
एमालेले वैशाख २७ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिँदा एमालेका तत्कालीन वरिष्ठ नेता माधवकुमार नेपालनिकट २८ सांसदले संसद् बैठक बहिष्कार गरेका थिए । सोही ह्विप उल्लंघनलाई लिएर एमालेले भदौ १ गते संसद् सचिवालयलाई सूचना दिएको थियो । एमालेले कारबाहीको सिफारिस गरेका १४ सहित २३ जना प्रतिनिधिसभा सदस्यले नयाँ दल नेकपा ९एकीकृत समाजवादी० गठन गरेका छन् ।





प्रतिक्रिया