देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

एमालेले सभामुखलाई भन्यो : कि १४ सांसदलाई पदमुक्त गर्नुस्, कि राजीनामा दिनुस्

देशान्तर

काठमाडौं – प्रमुख प्रतिपक्षी नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटालाई पार्टीले कारबाही गरेका १४ सांसदको सूचना टाँस गर्न नत्र मार्ग प्रशस्त गर्न माग गरेको छ ।

एमालेका मुख्य सचेतक विशाल भट्टराईले अब पार्टीको बटमलाइन माधवकुमार नेपालसहितका १४ सांसदलाई पदमुक्त गरेको सूचना टाँस गर्न वा पदबाट मार्ग प्रशस्त गर्नुपर्ने बताए । सभामुखलाई उक्त विषय भेटमार्फत गराएको उनले सुनाए ।

यस्तै एमालेले आजको सर्वदलीय बैठकमा सहभागी नहुने निर्णय गरेको छ । ‘हामी आजको बैठकमा सहभागी हुँदैनौं । सभामुखलाई भेटमार्फत् एमालेले कारबाही गरेका १४ सांसदलाई पदमुक्त भएको सूचना टाँस गर्न वा मार्ग प्रशस्त गर्न भनेका छौं । हाम्रो पार्टीको बटमलाइन यही हो । हाम्रो माग पूरा नहुँदासम्म बैठकमा जाँदैनौं । संसद्मा अवरोध यथावत रहने छ’, उनले भने ।

एमालेले माधवकुमार नेपाल नेतृत्त्वको नेकपा (एकीकृत समाजवादी)लाई अवैधानिक पार्टी भन्दै आएको छ । सो पार्टी सहभागी हुने भएपछि एमाले सर्वदलीय बैठकमा नजाने निर्णय गरेको कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । सभामुख अग्निप्रसाद सापाकोटाले भने बैठक सञ्चालन गर्न र आफ्नो नियत गलत नभएको बताएका छन् । सभामुखले आज संसद्मा प्रतिनिधित्त्व गर्ने दलसँग छलफल गर्न लागेका हुन् । बैठक आज दिउँसो २ः३० मा बोलाइएको छ ।