देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

ऊर्जामन्त्री भुसालसँग यूएयी राजदूतको शिष्टाचार भेट

देशान्तर

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (यूएयी) का राजदूत सइद हम्दन अल-न्वाबीले शिष्टाचार भेट गरेका छन् । मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच नेपाल र यूएयीबीच रहिआएको अपसी सम्बन्धका विविध पक्षमा छलफल भएको छ ।

सो अवसरमा राजदूत अल-न्वाबीले आफ्नो कार्यकालमा द्विपक्षीय व्यापार विस्तार हुनाका साथै आपसी सम्बन्ध विस्तारमा थप योगदान पुगेको बताए । उनले आगामी नोभेम्बर १५-१८, २०२१ मा अबुधावीमा हुने ‘इन्टरनेसनल पेट्रोलियम एक्जिविसन एन्ड कन्फ्रेरेन्स’मा सहभागी हुन आग्रह गरे। सो अवसरमा राजदूत अल–न्वाबीले मन्त्री भुसाललाई यूएयी सरकारको निमन्त्रणापत्र हस्तान्तरण गरे ।

जवाफमा मन्त्री भुसालले अबुधावीमा हुने सम्मेलनमा आफूलाई निमन्त्रणा गरेकोप्रति त्यहाँको सरकारलाई हार्दिक धन्यवाद व्यक्त गर्दै सम्मेलनको सफलताको कामना गरिन। उनले आफ्नो सहभागिताबारे परराष्ट्र मन्त्रालयमार्फत जानकारी पठाउने बताइन् । सो अवसरमा मन्त्री भुसालले रोजगारीका सिलसिलामा दुई लाखभन्दा बढी नेपाली यूएयीमा रहेको र उनीहरूले सम्मानजनक सुविधा पाउने विश्वास व्यक्त गरिन ।

उनले कोभिड-१९ महामारीमा पनि त्यहाँ रहेका नेपालीलाई रेखदेख गरेको जनाउँदै मन्त्री भुसालले यूएयी सरकारप्रति धन्यवाद व्यक्त गरिन । उनले नेपालको ऊर्जा, कृषि, पर्यटनलगायत क्षेत्रमा लगानीका लागि उपयुक्त अवसर रहेको उल्लेख गर्दै त्यहाँका इच्छुक लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरिन। सो अवसरमा ऊर्जा मन्त्रालय र परराष्ट्रमन्त्रालयका अधिकारीको सहभागिता थियो ।