देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बुटवलका मेयर र पहिरो पीडितबिच झडप

देशान्तर

बुटवल – बुटवल ज्योतिनगरका पहिरो पीडितले बुटवल उपमहानगरका मेयर शिवराज सुवेदीमाथि हातपात गरेका छन् । गत भदौ १३ र १४ गते अविरल वर्षासँगै खसेको पहिरोले ज्योतिनगरका १० घर पुरिएका थिए भने ५० बढी घर उच्च जोखिममा परेका थिए ।

सोमबार उक्त पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न गएका मेयर सुवेदीमाथि पहिरो पीडितले मुक्का प्रहार गर्दै हातपात गरेका हुन् । तर प्रहरी र नगर प्रहरीले मेयरलाई जोगाएका थिए ।

पहिरोले विस्थापित भएको लामो समयसम्म पनि आफूहरुलाई कुनै उचित व्यवस्थापन नगरेकाले आक्रोशित भएर हातपात गरेको स्थानीयले बताएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी मदन कुवँरले बताए ।

पहिरोले अम्मर विक, सीता थकाली, तुल्सा सुवेदी, यमबहादुर पुन, मन कुमारी शर्मा, इश्वरा पाण्डे र रोशन राणाको घर पुरेको थियो ।

पहिरोले बुटवलको गोलपार्कदेखि लक्ष्मीनगर जाने सडकमा क्षति पुर्‍याउनुका साथै त्यहाँ रहेको बिजुलीको पोल पनि बगाएको थियो । २०५६ सालमा पनि लक्ष्मीनगर र ज्योतिनगरमा पहिरो खस्दा ५० भन्दा बढी घर विस्थापित भएका थिए ।