देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

इपिएलका विदेशी कोटामा श्रीलंकन खेलाडीको दबदबा

देशान्तर

काठमाडौं – आगामी शनिबारबाट हुने घरेलु टी-२० फ्रेन्चाइज प्रतियोगिता एभरेष्ट प्रिमियर लिग (इपिएल)मा अहिले धमाधम विदेशी खेलाडी नेपाल आइरहेका छन्। कोरोना कहरका कारण निर्धारित समयभन्दा १ वर्ष ढिला सुरु हुन लागेको प्रतियोगितामा सर्वाधिक चासो अहिले अनुबन्धित विदेशी खेलाडीको नै छ।

केही वर्ष अघिसम्म घरेलु क्रिकेटरहरूको मात्र चर्चा हुने इपिएलमा अब कस्ता विदेशी खेलाडी कुन टीममा अनुबन्धन हुन्छन भन्ने चासो बढेको छ। यस्तोमा यो पटक हरेक टीमले ४ जना विदेशी खेलाडी अनुबन्धन गरेका छन्। जसमा अधिकांश टीममा श्रीलंकन खेलाडीको वर्चश्व छ। काठमाडौं किग्सबाहेक बाँकी सबै टिममा श्रीलंकन खेलाडी अनुबन्धित छन्।

त्यसो त एभिडी भिलियर्स तथा क्रिस गेल जस्ता खेलाडीको नाम पनि चर्चामा नरहेको होइन तर उनीहरू योपटक आउन सकेनन्। तर, प्रतियोगिताकै मुख्य आकर्षकका रूपमा पाकिस्तानी स्टार साहिद अफ्रिदी तथा श्रीलंकाका लिजेन्ड तथा पूर्व कप्तान उपुल थरंगा, दक्षिण अफ्रिकी लिजेन्ड रिचर्ड लेभी बंगलादेशी स्टार तमिम इक्बाल लगायत खेलाडी रहनेछन्।

यद्धपि यो पटक एसोसिएटेड देश मलेसिया, सिंगापुर तथा भुटानका समेत खेलाडी इपिएलमा रहँदा जबर्जस्त रुपमा श्रीलंकन खेलाडीको दबदबा भने निकै छ।