देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

तनहुँमा भाइरल ज्वरोका बिरामी बढे

देशान्तर

तनहुँ – तनहुँको सदरमुकाम दमौलीस्थित दमौली अस्पतालमा भाइरल ज्वरोका बिरामी बढ्दै गएका छन् ।

अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये करिब १५ प्रतिशत भाइरल ज्वरोका बिरामी रहेको सो अस्पतालले जनाएको छ । अहिले दैनिक अस्पतालमा २०० देखि २५० जनासम्म अस्पतालमा आउने गरेका छन् ।

भाइरल ज्वरोका बिरामीमा कोरोनाको जस्तो लक्षण देखिए पनि परीक्षण गर्दा पोजेटिभ नदेखिएको अस्पतालका प्रमुख डा सुनिल पौड्यालले बताउनुभयो । उपचारमा आएका बिरामीमध्ये दैनिक ३० देखि ४० जनासम्म भारइल ज्वरोका बिरामी भेटिने गरेको उनले जानकारी दिए । भाइरल ज्वरोका बिरामीमा कोरोनाको जस्तै लक्षण देखिन्छ ।

भाइरल ज्वरो मौसमी फ्लु भएकाले घरमै बसेर सामान्य उपचार गर्दा पनि निको हुन्छ । ज्वरो आएमा सिटामोल खाने, प्रशस्त पानी पिउने, आराम गर्ने, पोसिलो जुस पिउने गर्नाले यो निको हुने डा पौड्यालले बताए । कोरोना एक व्यक्तिबाट अर्को व्यक्तिमा लक्षण देखिन कम्तीमा पाँचदेखि सात दिन लाग्न सक्छ तर भाइरल ज्वरो दुई दिनदेखि पाँच दिनभित्रमा लक्षण देखिने र सरुवा रोग भए पनि छिटो निको हुने उनले बताए ।

दमौली अस्पतालमा सुरुसुरुका दिन ४० देखि ५० प्रतिशतसम्म कोरोना पोजेटिभ देखिए पनि अहिले १८ देखि २० प्रतिशतमा कोरोना देखापर्ने गरेको उनले बताए । त्यसैगरी दमौली अस्पतालको सघन उपचार कक्षमा राखेर चार जना कोभिड–१९ का बिरामीको उपचार गरिँदै आएको सो अस्पतालले जनाएको छ ।