देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

इजरायल जान भाषा परीक्षा पास गरेका १६ सय जना सिफारिस

देशान्तर

काठमाडौं – वैदेशिक रोजगार विभागले इजरायलमा रोजगारीका लागि केयर गिभरमा जान भाषा परीक्षा उत्तीर्ण गरेका १ हजार ६ सय जनालाई सिफारिस गरेको छ।

अन्तर्वार्ताबाट छनोट भएका १६ सय जनाको नामावली नेपालस्थित इजरायली दूतावासमा नामावली बुझाएको हो। अन्तर्वार्ताको लागि १८ सय ३ जना सहभागी भएका थिए। जसमध्ये ११ सय २० जना महिला र ४ सय ८० जना पुरुष गरी १६ सय जना सिफारिस भएका हुन्।

इजरायल जानका लागि विभागले तोकेको समयमा ९ हजार ६ सय ९९ नेपालीले आवेदन दिएका थिए। जसमा ४ हजार २ सय महिला र ५ हजार ४ सय ९९ पुरुषले आवेदन दिएका थिए।

इजरायल रोजगारीका लागि ६ हजार ३ सय ९७ जना लिखित परीक्षामा सहभागी भएकोमा १ हजार ३ सय ९५ जना महिला र ६ सय ४४ पुरुष गरी कुल २ हजार ३९ जनाले अंग्रेजी भाषा परीक्षा पास गरेका थिए।

अब सिफारिसमा परेका १६ सयलाई इजरायल सरकारले कम्प्युटर प्रणालीमार्फत ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष छनोट गर्नेछ।

नेपाल सरकार र इजरायल सरकारबीच २०७६ असोज १४ गते सम्पन्न श्रम सम्झौताअनुसार इजरायलका दीर्घकालीन सुसारे ९केयरगिभर०का लागि नेपाली सहायक कामदार पठाउन लागेको हो। यो प्रक्रिया नेपाल सरकार र इजरायल सरकारबीच जिटुजी मोडलबाट भएको छ।

इजरायल नेपाली कामदारहरूका लागि आकर्षक गन्तव्य मानिन्छ। इजरायल रोजगारमा जानेहरूले एक वर्षको करार अवधिको लागि जाने भए पनि ५ वर्षसम्म भिसा थप गरेर काम गर्न सक्नेछन्। इजरायल जानका लागि अनुमानित १ लाख ६५ हजार ७ सय लाग्ने अनुमान छ भने मासिक करिब १ लाख ९० हजार तलब प्राप्त गर्न बताइएको छ।