देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

सुदूरपश्चिममा भारी वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह

देशान्तर

काठमाडौं – सुदूरपश्चिम प्रदेशमा भारी वर्षा हुन सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्र र होचो भूभागमा बसोबास गर्ने नागरिकलाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले सोमबार सूचना जारी गर्दै सुदूरपश्चिम प्रदेशको मध्य तथा तराई क्षेत्रमा भारी वर्षा मापन भएको र अझै तीन दिन थप वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान रहेकाले सो क्षेत्र भएर बग्ने नदीका तटीय र डुबान हुने क्षेत्रमा बसोवास गर्ने सबै नागरिकलाई सतर्क रहन आग्रह गरेको हो ।

आइतबार रातिदेखि भइरहेको वर्षाका कारण सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुरलगायत जिल्लामा भित्र्याउन लागिएको धान बालीमा क्षति पुगेको छ ।

महाकाली नदीले सतर्कता तह पार गर्‍यो

महाकाली नदीले सतर्कता तह पार गरेको छ । सोमबार राति साढे ९ बजेको मापनअनुसार महाकाली नदी पारीगाउँ जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागले डडेलधुरा र कन्चनपुर जिल्लाका तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा मंगलबार बिहानसम्म उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । ‘महाकाली नदी पारीगाँउ जल मापन केन्द्रमा नदीको जलसतह बढेर सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले डडेलधुरा र कञ्चनपुर जिल्लाका तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनु हुनेहरूले भोलि बिहानसम्मै उच्च सतर्कता अपनाऔं’, विभागले भनेको छ ।