देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

पाँचवटा प्रदेशमा ठूलो वर्षा: महाकाली र कर्णाली नदीले खतराको तह पार गर्‍यो

देशान्तर

काठमाडौँ – देशका पाँच वटा प्रदेशमा अहिले ठूलो पानी परेको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र प्रदेश एकमा रातिदेखि नै ठूलो पानी परिरहेको हो । लगातार परेको पानीले महाकाली, भेरी, कर्णाली, पश्चिम राप्ती, नारायणी र गण्डकी नदीका विभिन्न ठाउँमा बाढी आएको छ ।

डडेल्धुरा र डोटीमा महाकाली र कर्णाली नदीले खतराको तह पार गरेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै महाकाली, भेरी, कर्णाली, पश्चिम राप्ती, नारायणी र गण्डकी नदी अन्तर्गत पर्ने बैतडी, डडेलधुरा, डोटी, अछाम, प्युठान, बाग्लुङ्ग, अर्घाखाँची, गुल्मी र म्याग्दीका विभिन्न ठाउँमा पनि बाढीले खतराको तह पार गर्ने सम्भावना रहेको छ । भोलिसम्मै यी नदीहरुमा बाढीको जोखिम रहेको पनि महाशाखाले जनाएको छ ।

यस्तै देशका अरु नदी तथा खोलामा पनि बाढी आउने सम्भावना भएकाले सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन् । भोलीसम्म नै निरन्तर ठूलो पानी पर्ने र पर्सिदेखि भने मौसममा सामान्य सुधार हुदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पर्सिदेखि पनि बादल रहने भएकाले मौसम पूरै सफा नहुने महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बताइन् । शनिवार रातीदेखि देशका विभिन्न ठाउँमा लगातारको बर्षाले जनजीवन प्रभावित भएको छ । आवतजावतमा समस्या भएको छ । दशैँमा घर गएकाहरुले कार्यक्षेत्रमा फर्किदा सडकको हिलो र पहिरोले हैरानी बेहोर्नुपरेको बताएका छन् ।