देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

वर्षाले झापामा ३६१ परिवार विस्थापित

देशान्तर

झापा – लगातार वर्षाका कारण झापा जिल्लाका विभिन्न स्थानका ३६१ घरपरिवार विस्थापित भएका छन् । उनीहरुलाई सामुदायिक भवन, विद्यालय, रेडक्रस, चर्चलयागतका सुरक्षित स्थानमा सारिएको छ ।

कनकाई, विरिङ र मेची नदीमा आएको बाढी पसेर गौरीगञ्ज, झापा गाउँपालिका, शिवसताक्षी र भद्रपुर नगरपालिकाका केही बस्ती डुबानमा परेका हुन् । डुवान क्षेत्रमा रहेका परिवारका सुत्केरी, बालबालिका र ज्येष्ठ नागरिकलाई सुरक्षाकर्मी र जनप्रतिनिधिले सुरक्षित स्थानमा सारेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जानकारी दिए ।

अझै पनि आफ्नो सम्पतिको सुरक्षा नहुने भन्दै गौरीगञ्ज –१ होक्लाबाडीस्थित डुबान क्षेत्रका कतिपयले सुरक्षित स्थानमा जान नमानेपछि डुबान क्षेत्रमा बिहानैदेखि प्रजिअ तिम्सिनासहित, रेडक्रस झापाका सभापति लोकराज ढकाल, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक सानुराम भट्टराई, सशस्त्र प्रहरी २ नम्बर गणका प्रहरी निरीक्षक रमेशकुमार पाण्डे, चारआली श्रीनाथ गणका गणपति अमरजङग थापालगायतको टोली पुगेको छ ।

टोलीले उनीहरुलाई सम्झाइबुझाइ गरेर सुरक्षित स्थानमा सार्ने र विस्थापित परिवारलाई चिउरा, दालमोठ, मुरै, बिस्कुटलगायतका खानेकुरा स्थानीय तहको समन्वयमा वितरण गर्ने काम गरिरहेको छ । “सुरक्षित स्थानमा सारिएका सबैलाई खाना पकाएर खुवाउने स्थिति छैन”, प्रमुख जिल्ला अधिकारी तिम्सिनाले भने, “पालिका आफैंले ड्राइफूडको व्यवस्था गरेर खाने व्यवस्था मिलाएको छ ।”

डुबान क्षेत्रमा पानीको मात्रा घट्दै गए पनि पहाडी क्षेत्रमा परेको पानीका कारण खोलानालामा पानीको बहाव नघट्दा समस्या भइरहेको उनले बताए । उनले डुबान क्षेत्रका सबै परिवारलाई सुरक्षित स्थानमा सार्नुको तत्काल विकल्प नरहेको बताए ।