देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

कर्णालीको बाढीले बर्दियामा ३ सय परिवार विस्थापित

देशान्तर

गुलरिया – कर्णाली नदीमा आएको बाढीबाट बर्दियाका सयौं घरपरिवारहरु विस्थापित भएका छन्। मंगलबार बस्तीमा पसेको कर्णाली नदीले राजापुर लगायत गेरुवा क्षेत्रका हजारौं बासिन्दाहरु प्रभावित भएका हुन्।

कर्णाली नदीमा आएको बाढीले राजापुर नगरपालिकाको वडा नम्बर १, ३, ४, ७, ९ र १० स्थित दौलतपुर, चनौरा, सोनपुर, मुर्गहवा, तिग्रा लगायतका आधादर्जन बस्तीमा क्षति पुर्‍याएको छ। गेरुवा गाउँपालिकाको वडा नम्बर २ र ३ मा बनकट्टी, सनकट्टी, राजीपुरका ४ वटा गाउँमा क्षति पुगेको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए। बाढीले मानविय लगायत पशुधनमा क्षति नपुर्‍याएपनि भौतिक लगायत धानवालीमा क्षति पुर्‍याएको छ।

जिल्लाको प्रारम्भिक लेखाजोखा अनुसार राजापुरका ६ वटा वडाहरुमा १ सय ९५ घर पूर्ण, ६ सय ७७ घर आंशिक क्षति भएको प्रमुख जिल्ला अधिकारी सुनाले जानकारी दिए। गेरुवा गाउँपालिकाका २ वटा वडाहरुमा ९७ घर पूर्ण, १ सय १३ घर आंशिक क्षति भएको छ। राजापुर नगरपालिकाका १ हजार २४३ परिवार र गेरुवा गाउँपालिकाका २ सय १० गरी १ हजार ४५३ परिवार बाढीबाट प्रत्यक्ष प्रभावित भएका छन्।

कर्णाली नदीमा आएको बाढीबाट राजापुर र गेरुवा दुई वटा पालिकाका ८ वटा वडा गरी २ सय ९२ घर पूर्ण क्षति, ७ सय ९० घर आंशिक र २ सय ९२ परिवार विस्थापित भएको प्रमुख जिल्ला अधिकारी सुनारको भनाई छ। क्षतिको पूर्ण विवरण संकलन भैरहेकोले थप विवरण चाँडै सार्वजनिक गरिने प्रष्ट्याए। विपद् व्यवस्थापन समिति, स्थानीय तह, रेडक्रस, प्रहरी लगायत संघसंस्थाहरुले प्रभावित क्षेत्रमा तथ्यांक संकलन गर्ने कार्य जारी राखेका छन्।