देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

तीन दिनदेखि बन्द विराटनगर विमानस्थल आजदेखि सञ्चालनमा आउने

देशान्तर

काठमाडौं – बेमौसमी वर्षापछि आएको बाढीका कारण डुबानमा परेको विराटनगर विमानस्थल शनिबारदेखि सञ्चालनमा आउने भएको छ । विमानस्थलको धावनमार्गमा बाढी पसेर तीन दिनदेखि बन्द रहेको विमानस्थल पुनः सञ्चालनमा आउन लागेको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले बिहानदेखि साँझ ५ बजेसम्म दिउँसोको समयमा मात्रै मौसम अनुकूल उडान गर्ने गरी अनुमति दिएको हो । तत्कालका लागि भीएफआर उडान मात्र हुनेछ । उपकरणको परीक्षणपश्चात आइएफआर उडान हुने जनाइएको छ । दुई दिनसम्म उपकरणहरुको परीक्षणपश्चात विमानस्थल सञ्चालनमा आउने भएको हो । हाललाई रात्रिकालीन उडान हुने छैन ।

विमानस्थल जलमग्न भएपछि यही कात्तिक ३ गतेदेखि नोटाम जारी गरेर विमानस्थल बन्द गरिएको थियो । वर्षाबाट काठमाडौं-विराटनगर उडान प्रभावित भएको थियो । नियमित उडानका सबै एयरलाइन्सले उडान रद्द गरेका थिए । स्थानीय केसलीया खोलामा आएको बाढी विमानस्थलमा पसेकाले धावनमार्ग, पार्किङ एरियालगायतका स्थान डुबानमा परेका थियो ।