देशान्तर मिडिया प्रा. लि
सूचना विभागमा दर्ता नं. : १४७१/०७६–७७
Office: ग्रविटी टावर, अनामनगर - ३२ काठमाडौँ
Phone: +९७७ ०२४-५२०५५५
Admin: radiodeshantar@gmail.com
News: deshantarweekly@yahoo.com

बालबालिकाका लागि १ करोड मात्रा फाइजर र मोडर्ना खोप आउँदै

देशान्तर

काठमाडौं – १२ देखि १८ वर्षका बालबालिकालाई लगाउनका लागि १ करोड मात्रा खोप छिट्टै आउने भएको छ। स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले बिहीबार पत्रकारहरूसँग कुरा गर्दै उक्त जानकारी दिएका हुन्।

बालबालिकालाई लगाउन मिल्ने ५० लाख मात्रा फाइजर र ५० लाख मात्रा मोडर्ना खोप ल्याउने प्रक्रिया अघि बढिसकेको मन्त्री खतिवडाले बताए।

१ करोड मात्रा खोप बुकिङ भइसकेको र केही दिनभित्र नेपाल आउने उनले बताए। ‘हामीले यथाशक्य चाँडै सबै जनतालाई खोप लगाउने लक्ष्य राखी खोप छिटो ल्याउने कोसिस गरेका छौँ, जसले गर्दा एक करोड फाइजर र मोडर्ना खोप चाँडै आउँदै छ’‚ उनले भने।

बिहीबार अमेरिकी सरकारले कोभ्याक्समार्फत दिएका १ लाख २० हजार मात्रा फाइजर खोप नेपाललाई उपलब्ध गराएको थियो। उक्त खोप १२ वर्षमाथिका दीर्घ रोगका विरामी बालबालिकालाई कात्तिक २८ गतेदेखि दिने मन्त्रालयले तयारी गरेको छ।

यसैगरी मन्त्री खतिवडाले चीन र भारतमा पनि ११ वर्षमाथिका बालबालिकालाई लगाउने खोप अन्तिम ट्रायल भइरहेकाले जहाँबाट चाँडो ल्याउन सकिन्छ त्यहीँबाट ल्याएर खोप लगाइने बताए।

मन्त्री खतिवडाले मन्त्रालयले चैतसम्म सबै नागरिकलाई कोभिड– १९ विरुद्धको खोप लगाइसक्ने गरी अगाडि बढेको समेत बताए।

स्वास्थ्यकर्मीको जोखिम भत्ताका लागि अर्थ मन्त्रालयसँग ४५ करोड माग गरिएको समेत उनले जानकारी दिए। जोखिम भत्ता नपाएको गुनासो आएको भन्दै भत्ता वितरणका लागि अर्थ मन्त्रालयसँग ४५ करोड माग गरिए पनि निकासा भने भइनसकेको उनले बताए।